एसपी रिपोर्टर
जनकपुरधाम , साउन ९:
प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए ।
‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिंचाइ गर्न सकिन्छ,’ उनले भने ।

पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको उनले बताए ।
सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको बताए ।
‘मधेश सुख्खाग्रस्त छ । पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरूबाट काम गर्नेछौं,’ उनले भने,
चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता पनि सो क्रममा जनाए ।

आन्दोलनकारीको मुद्दा खारेज होस् : लोसपा अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा संलग्न नेताहरूलाई राज्यले झुटा मुद्दामा फसाएर अन्याय गरेको आरोप लगाएका छन् ।
महोत्तरीको मटिहानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्ष ठाकुरले आन्दोलनकारीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
‘राजनीतिक परिवर्तन आन्दोलनको उपलब्धि हो,’ ठाकुरले भने, ‘मधेश आन्दोलनका क्रममा महोत्तरीका चार नेतालाई षड्यन्त्रपूर्वक जन्मकैदको सजाय दिइएको छ, केही अहिले पनि जेलमा छन् । झुटा मुद्दा फिर्ता नलिएसम्म यो परिवर्तन अधुरो रहन्छ ।’
ठाकुरले लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वरका पूर्वमेयर रामशंकर मिश्रसहित पार्टीका नेताहरू सुरेश पाण्डे र धर्मेन्द्र राउतलाई राज्यले षड्यन्त्रपूर्वक फसाएको दाबी गरे । भीडले गराएका घटनालाई आधार बनाएर आन्दोलनकारीलाई फसाइएको उनको आरोप थियो ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीकै कार्यकालमा ३ वर्ष कैद र १० लाख जरिवाना सुनाइएका अन्य केही मुद्दाहरू फिर्ता गरिएको प्रसंग उल्लेख गर्दै बाँकी मुद्दाहरू पनि फिर्ता लिन आग्रह गरे ।

खडेरीबाट प्रभावित किसानका लागि संघले राहत प्याकेज ल्याओस् : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले खडेरीका कारण संकटमा परेका किसानका लागि संघ सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने माग गरेका छन् ।
शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले बारा, पर्सा लगायत प्रदेशका १३६ वटै स्थानीय तह खडेरीको चपेटामा परेको बताए ।
‘पिउने पानीसमेत अभाव छ, खेतहरू सुक्दै गएका छन्,’ मुख्यमन्त्री सिंहले भने, ‘खेतीयोग्य जमिन बाँझो बस्न थालेको छ । रोपाईं गम्भीर रूपमा प्रभावित भएको छ ।’
उनका अनुसार मधेश प्रदेश अन्न उत्पादनको मुख्य केन्द्र भए पनि हालसम्म ५० प्रतिशतभन्दा कम मात्र रोपाईं सम्पन्न भएको छ । ‘मधेश संकटग्रस्त अवस्थामा पुगेको छ,’ उनले भने, ‘सिंगो प्रदेशको बजेट प्रयोग गर्दा पनि अहिलेको समस्या समाधान हुन सक्दैन । संघ सरकारले विशेष पहल गर्नैपर्छ ।’
मुख्यमन्त्री सिंहले किसानको राहतका लागि संघ सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए । साथै, बोरिङ प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी पनि उनले दिए ।

प्रधानमन्त्री ओलीबाट मटिहानीमा सुविधासम्पन्न प्रसूति गृह उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा नवनिर्मित पाँच शय्याको सुविधासम्पन्न प्रसूति गृहको उद्घाटन गरेका छन् । उक्त प्रसूति गृह राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको साझेदारीमा झन्डै २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
प्रधानमन्त्री ओलीले यसअघि मटिहानी वडा नं. ८ मा रहेको बिग्ही नदीमाथिको पुल उद्घाटन गरेपछि वडा नं. ६ को जरलहवा गाछीभन्दा दक्षिणमा रहेको उक्त प्रसूति गृहको समुद्घाटन गरेका हुन् ।
पाँच शय्याको यस भवनमा अपरेशन कोठा, डिलेभरी कोठा, एनआइसी युनिट, वेटिङ रुम, ओपिडी, फार्मेसी, नर्सिङ कोठा, शौचालय र सोधपुछ केन्द्रजस्ता पूर्वाधार रहेका छन् । यस प्रसूति गृहको निर्माणले मटिहानी आसपासका महिलाहरूलाई सुरक्षित सुत्केरी सेवा र नवजात शिशुका लागि आवश्यक उपचार सुविधा उपलब्ध हुने आशा गरिएको छ ।

मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले नगरमा बजेट अभावका कारण ५० शय्याको अस्पताल निर्माण गर्न नसकिएको बताउँदै सानो मात्रामा भए पनि सुविधा सम्पन्न प्रसूति गृह सञ्चालनमा ल्याउन सफल भएकोमा सन्तोष व्यक्त गरे । उनले यो सेवा मातृ तथा शिशु मृत्युदर घटाउन सहयोगी हुने दाबीसमेत गरे ।
श्री कालिका कन्सट्रक्सन प्रालि, भरतपुर–चितवनले एक करोड ८८ लाख रुपैयाँको लागतमा ठेक्का लिएको उक्त प्रसूति गृहको निर्माण कार्य २०८१ माघमा सम्पन्न भएको हो ।








