एसपी रिपोर्टर
जनकपुरधाम , साउन ७ :
महोत्तरीको जलेश्वर नगरपालिकामा बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गरिएको छ । १३ करोड ९४ लाख २७ हजार ६६१ रुपैयाँ २४ पैसा (भ्याट बाहेक) को लागतमा निर्माण गरिएको सो भवनको उदघाटन् भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशमान सिंहले गरेका छन् ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाद्वारा निर्मित व्यापारिक भवनको भुइँतल्लामा स्थानीय उत्पादन तथा खुद्रा व्यापारका लागि खुला बजारको व्यवस्था गरिएको कार्यालयका प्रमुख विनोद यादवले जानकारी दिए । त्यस्तै पहिलो तल्लामा १५ वटा व्यापारिक सटर राखिएको छ भने दोस्रो तल्लामा एकवटा डिपार्टमेन्ट स्टोरका लागि च्याम्बर कोठा, रेस्टुरेन्ट एरिया र सम्मेलन हल निर्माण गरिएको उनले बताए ।

सबै तल्लामा महिला तथा पुरुष शौचालयसहित सम्पूर्ण इलेक्ट्रिकल र स्यानिटरी जडान गरिएको छ ।
योजनाअन्तर्गत सडक तथा नाला निर्माण कार्यसमेत सम्पन्न गरिएको छ । सिक्स लेन होटल इन्द्रेणी लजदेखि मुख्य बजारसम्मको करिब ३४८ मिटर दूरीमा इन्टरलकमार्फत बाटो तथा नाला निर्माण गरिएको छ । साथै, खसी बजार जाने बाटोमा करिब ६४० मिटर लम्बाइमा ढलान गरिएको सडक तथा नालाको निर्माण गरिएको छ ।







