एसपी रिपोर्टर
जनकपुरधाम , साउन ७ :
जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणिमण्डप परिसरमा संघीय सरकारको लगानीमा निर्माण गरिएको सीतापुष्पवाटिका को उद्घाटन गरिएको छ । सीता–राम विवाहसँग सम्बन्धित ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित उक्त पुष्पवाटिका निर्माण गरिएको हो ।

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार आयोजित उद्घाटन समारोहमा बोल्दै मणिमण्डप क्षेत्रलाई वैवाहिक गन्तव्यस्थलको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘यो सीता–रामको विवाह स्थल हो, यसलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अझ व्यवस्थित र आकर्षक बनाउनु आवश्यक छ ।’

मन्त्री सिंहका अनुसार तीनै तहका सरकारको सहकार्यमा बाँकी रहेका संरचनाहरु समेत निर्माण गरी मणिमण्डपलाई पूर्ण र समुचित स्वरूपमा प्रस्तुत गरिनेछ । उनले मणिमण्डपलाई ‘नेपालकै गौरव’ को रूपमा चिनाउँदै यसको संरक्षण र प्रचार–प्रसार आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा निर्माण सम्पन्न भएको सीता पुष्पवाटिकाले हिन्दू धर्मावलम्बी पर्यटकहरुको आगमनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा सहभागी हुँदै मुख्यमन्त्री सिंहले धार्मिक महत्वका कारण सीता–राम विवाह स्थलको विश्वव्यापी प्रचार–प्रसार आवश्यक रहेको उल्लेख गरे । ‘जनकपुरधाम धार्मिक मात्र नभई सांस्कृतिक र ऐतिहासिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण सहर हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकको सहजताको लागि भौतिक पूर्वाधार अझ विस्तार गर्नु आवश्यक छ ।’

उनले भारत तथा अन्य मुलुकबाट आउने पर्यटकलाई लक्षित गरी सेवा र सुविधाहरु बढाउन संघीय सरकारसँग आग्रह गरे । धार्मिक पर्यटन प्रवद्र्धनको अवसर सिर्जना गर्ने यस्तो परियोजनालाई अझ प्रभावकारी बनाउन संघ सरकारले जनकपुरधाममा आवश्यक संरचनात्मक विकासमा लगानी बढाउनु जरुरी छ, मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।
मुख्यमन्त्री सिंहका अनुसार सीता पुष्पवाटिका मात्र होइन, समग्र जनकपुरधाम क्षेत्रको समुचित र योजनाबद्ध विकास आवश्यक छ, जसका लागि प्रदेश सरकार पनि तयार रहेको उनले बताए ।

सीतापुष्पवाटिका निर्माणका लागि २०७५ मंसिर २४ गते सम्झौता भएको थियो। मूल्य अभिवृद्धि कर (भीएटी) बाहेक १८ करोड १५ लाख २२ हजार रुपैयाँमा निर्माणको सम्झौता भए पनि समयमा काम सम्पन्न नभएकाले म्याद थप गर्दै २०८२ असोज ३० गतेभित्र सम्पन्न गर्ने गरी पुनः कार्य अगाडि बढाइएको थियो । हालसम्म उक्त आयोजनामा करबाहेक १८ करोड ५३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, जनकपुरधामले जनाएको छ ।

परियोजनाको निर्माण कार्य काठमाडौँस्थित रविना कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेको हो । आयोजनामा भव्य प्यालेस भवनसहित दुईवटा धर्मशाला, दुईवटा पभेलियन, विवाहमण्डप र १० कोठे सटर निर्माण गरिएको छ ।
प्यालेस भवनमा ७० जना अटाउने हल, अट्याच्ड ट्वाइलेटसहित १६ वटा बेडरुम, डाइनिङ हल, किचन, म्युजियम अफिस कोटा लगायतका सुविधा छन् । यस्ता संरचनाहरु विवाहपञ्चमी, परिक्रमा लगायत धार्मिक पर्व तथा मेलामा जनकपुरधाम आउने भक्तजन तथा पर्यटकको बसोबास र व्यवस्थापनमा सहयोगी हुने विश्वास लिइएको छ ।








