एसपी रिपोर्टर
जनकपुरधाम , साउन ४ :
मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजलाई बलात्कार आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, झाविरुद्ध बलात्कारको उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी लिई उनलाई पक्राउ गरिएको हो। आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएर पाँच दिनको म्याद थप गरिएको छ।
युवतीले बलात्कारको उजुरी दिएको भए पनि अहिराजले भने ती महिलाविरुद्ध ‘आपराधिक लाभ’सम्बन्धी कसुरमा प्रतिउजुरी दिएका छन्।
प्रहरीका अनुसार उजुरी परेको केही समयपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। अहिराजमाथि लागेका गम्भीर आरोपबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





