एसपी रिपोर्टर
जनकपुरधाम , साउन १ :
उच्च अदालत जनकपुरमा १८ महिनाभन्दा अघिका सबै मुद्दा निष्कर्षमा पुगेका छन् । बिहीबार अदालतले पत्रकारहरूसँगको अन्तरक्रियामा आर्थिक वर्ष २०८१÷८२ को कार्यप्रगति सार्वजनिक गर्दै मुद्दा फस्र्योटको अवस्था जानकारी गराएको हो ।
अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेन्द्रनाथ उपाध्यायका अनुसार अघिल्लो वर्ष १८ महिनाभन्दा अघिका ९ वटा मुद्दा रहेका थिए, जुन सबै फस्र्योट भइसकेका छन् । हाल एक वर्षभन्दा बढी पुराना ११२ वटा मुद्दामात्र बाँकी रहेका छन्, ती पनि प्राविधिक कारणले निष्कर्षमा पुग्न सकेका छैनन् । न्यायाधीश उपाध्यायका अनुसार अदालतमा १२ न्यायाधीशको दरबन्दी रहे पनि पुसदेखि ९ जना मात्रै कार्यरत छन्, जसका कारण चारवटा मात्र इजलास सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा अदालतमा नयाँ र जिम्मेवारी सरेका गरी जम्मा ६ हजार ६७८ वटा मुद्दा रहेका थिए । तीमध्ये ४ हजार ४११ वटा मुद्दा फस्र्योट भएका छन् भने २ हजार २६७ वटा मुद्दा चालु आर्थिक वर्ष २०८२÷८३ मा सरिसकेका छन् ।
अदालतले अघिल्लो वर्ष ६५ प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य राखेकोमा ६६.०५ प्रतिशत मुद्दा फस्र्योट गर्न सफल भएको जानकारी गराइएको छ ।
पुनरावेदन दुनियावादी मुद्दा १ हजार ८६५ मध्ये १ हजार १३७, सरकारवादी फौजदारी मुद्दा १ हजार ६०७ मध्ये १ हजार ३, रिट मुद्दा ९२१ मध्ये ६६६, र निषेधाज्ञा सम्बन्धी १ हजार ६१२ मुद्दामध्ये १ हजार २३९ वटा फस्र्योट भएका छन् । बाँकी मुद्दाहरू चालु वर्षमा सरिसकेका छन् ।
मुख्य न्यायाधीश उपाध्यायले न्याय सम्पादन प्रक्रियालाई अझ प्रभावकारी बनाउन न्यायाधीशको संख्या तत्कालै बढाउनु पर्ने आवश्यकता औंल्याए ।





