एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ : प्रतिनिधिसभामा पुग्ने माननीयहरु अधिकांश जिल्ला र क्षेत्रमा कुनै विशेष कार्यक्रमको तालिका अनुसार कहिले काँही मात्र आउने गर्दछन् । तर कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिको पछिल्लो जनकपुर आगमन क्रम र दैनिकजसो को दौड धुपले उनी जनकपुर र काठमाण्डौं एक गरिदिएको जस्तो लाग्छ ।
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिको अचेल रात काठमाण्डौंमा वितेपनि दिन जनकपुरधाममै वित्न थालेको छ । हप्तामा तिन चार पटक सम्म पनि जनकपुर आनजान गर्न थालेका निधि जनकपुरधामको समाज र दशकौं को सम्बन्धका कारण दौडधुप स्वभाविक रहेको बताउछन् । उनको यस अगाडिको शुक्रवार र शनिवार पनि जनकपुरधाममै वितेको थियो

यसै क्रममा निधि शनिवारै आएर आधा दर्जन कार्यक्रम भ्याउँदै पुनः काठमाण्डौं फर्किएका छन् । जनकपुरधामको प्रतिष्ठित २००१ सालमा महादानविर राम स्वरुप राम सागरले स्थापना गरेको श्री धर्म संस्थाको १२ औं साधारणसभामा बौद्धिक जमातका बिच करिव ३ घण्टा बिताएका निधि त्यसपछि रौनियार सेवा समितिको सभाहलमा विद्यार्थीहरु संग सोहि बराबरको समय व्यतित गरेका छन् ।
त्यसपछि व्यक्तिगत सम्बन्ध भएका र नेता कार्यकर्ताहरुको घरायसी भोजभतेर र आमन्त्रणमा सहभागिता जनाएका निधि शनिवार बेलुका नै काठमाण्डौं फर्किएका छन् । श्री धर्म संस्थाको कार्यक्रममा निधिले समाजिक संस्थाहरु सुदृढ हुन आवश्यक रहेको बताए । धर्म संस्था जस्ता संस्थाहरुको योगदानले शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा जनकपुरधामको संस्थागत विकास र समृद्वि हुदै गएको उनले स्मरण गराए ।

रौनियार सेवा समितिको सभाहलमा अष्ट्रेलियन कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर जनकपुरधामद्वारा आयोजित शैक्षिक कार्यक्रममा निधिले जनकपुरधाममा आधुनिक र प्रविधिमैत्री प्राविधिक शिक्षामा भइरहेको विकास सन्तोषजनक रहेको बताउदै थप गुणस्तरीयता आवश्यक रहेको बताए । राजर्षि जनक विश्वविद्यालयको स्थापना र क्रियाशीलता पछि अव जनकपुरधाममा शिक्षा स्तर थप उकासिने उनको तर्क थियो ।





