एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले फुलगामाको मतले जितेकाहरु अहिले फुलगामाको विरोधमा लागेको आरोप लगाउदै राजर्षिजनक विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवन त्यहि बन्नु पर्ने अडान दोहराएका छन् । नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका पुर्व उपसभापति निधीले राजर्षिजनक संघिय विश्वविद्यालयका लागि सानोतिनो अलिकती जग्गाले नपुग्ने समेत बताए ।

मधेश प्रदेशको तोकिएको राजधानी भित्र फुलगामा पर्छ कि पर्दैन ?, विश्वविद्यालयको लागि प्रस्तावित मनियारीको जग्गा छेउमै प्रहरी चौकी र बैंकहरु छ कि छैन ? अनि विश्वविद्यालय कसरी असुरक्षित हुन्छ ? निधीले प्रश्न गर्दै भने, ‘विश्वविद्यालयको विधानमा जनकपुर नगर भित्रै हुनुपर्छ भन्ने कतै छैन ।’

नेपाली कांग्रेसकै एक प्रदेश सदस्यले मुजेलियामा हुनुपर्छ भन्दै विज्ञप्ती जारी गरेका छन नि ? भन्ने प्रश्नमा निधीको जवाफ थियो, ‘भर्खर पार्टी र राजनितीमा आएकाहरुको त्यो व्यक्तिगत स्टाटस होला पार्टीको लाइन होइन ।’ रामनारायण मिश्रको स्मृति भवन र आरजेयूको फुलगामामा बन्ने भवनको अवरोध गरेर एमालेले सत्ता गठबन्धनकारीको न्यूनतम मर्यादा समेत पालना गर्न नसकेको बताए ।

पत्रकार सम्मेलनमा बोलेका नेता राम सरोज यादवले आफुले थाहा पाए अनुसार वर्तमान संघिय शिक्षा मन्त्रीले समेत अवरोध गरिरहेको थाहा हुन आएको बताए । उनीहरुले एमालेले फुलगामामा आरजेयूको भवन बन्नमा एमालेका नेताहरु अवरोध गरिरहेको संकेत गरेका थिए । पार्टीका जिल्ला सभापति योगेन्द्र पजियारले विकासका लागि सहमति गर्न धनुषामा कांग्रेस र एमालेको तिन÷तिन जना गरि छ जनाको टिम स्थापना गरिएकोमा नगराईन नगरपालिकाको समस्या समाधानमा एमाले ईन्चार्ज जुली महतोले शंकाष्पद भुमिका खेलिरहेको आरोप लगाए ।