एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमर प्रसाद यादवले फुलगामाका भवन हुन नसक्नुमा प्राविधिक र राजनीतिक दुवै कारण रहेको बताएका छन् । नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार, विश्वविद्यालय स्थापना अभियानका अगुवा प्रदेश सांसद राजसरोज यादवको नेतृत्वमा स्मरणपत्र बुझाउन पुगेको एक प्रतिनिधिमण्डलहरु संगको कुराकानीमा उनले यस्तो बताएका हुन । यद्यपि उनले कस्तो राजनीति भन्ने बारे खुलाउन चाहेन ।

आफुले नै सम्झौता गरेको जग्गामा उपकुलपतिले भवन निर्माण गर्न नचाहेको भनेर आफनो नाम जोडेर आइरहेको टिकाटिप्पनीहरुलाई उनले गलत भनेका छन् । उनले आफैले जग्गाको सम्झौता गरेको, सबै प्रक्रिया पूरा गरेको भए पनि निर्माणमा अवरोध केन्द्रिय सरकार र त्यसको कारण राजनीतिक हस्तक्षेप हुन सक्ने स्वीकार गरे ।

उनले भने, “हामीलाई यस्ता डेलिगेशन र दबाब आवश्यक छ, यो ढिला भयो, यस्तो दबाबले हामीलाई बल दिन्छ । लाखौं भाँडा तिरिरहेको सन्दर्भ सुन्न नै चाहेका भिसी यादवले आवश्यक परे थप भाँडामा समेत संरचना लिन सकिने र यो स्वभाविक प्रक्रिया रहेको पुनः दोहराए । स्मरण पत्र बुझाउन गएका सांसद यादव र जिल्ला सभापति पजियारले के कारण जग्गा भएर पनि काम रोकिएको छ ? भन्ने प्रश्न गर्दा उनले विश्वविद्यालयको केन्द्रिय कार्यालय जनकपुर कि फुलगामा भन्नेमा विवाद रहेको खुलाए ।

वि.सं. २०५३ सालमा नेता विमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको अवधारणा प्रस्ताव गरेका थिए । त्यसबेला तत्कालीन जिल्ला विकास समिति सभापति राम सरोज यादवको अध्यक्षतामा परिषद् बैठकबाट निर्णय पारित गरिएको थियो । त्यस निर्णयअनुसार धनुषाका सबै तत्कालीन गाविसले १ लाखका दरले र महोत्तरीका सबै स्थानीय निकायले ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।

हाल विश्वविद्यालयलाई नगराईन नगरपालिका–४ फुलगामास्थित मणियारी चौरीमा करिब १३ बिघा जग्गा उपलब्ध गराइएको भए पनि तीन दशक बितिसक्दा पनि भवन निर्माण हुन नसक्नु चिन्ताको विषय बनेको छ । कांग्रेस धनुषा सभापति पजियारले भवन निर्माणका लागि आफुहरु कुनै पनि कसर वाँकी नराख्ने र आवश्यक परे घनघोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शिक्षा जस्तो पवित्र क्षेत्रलाई राजनीतिक विवादमा तानिँदै आएकोप्रति प्रतिनिधिमण्डलले आपत्ति जनाउँदै छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाउन विश्वविद्यालय र प्रदेश सरकारलाई आग्रह गरेका छन् । साथै, स्मरणपत्रमार्फत स्थानीय जनताको भावनालाई सम्मान गर्दै विश्वविद्यालयको दीर्घकालीन स्थायित्वका लागि आवश्यक निर्णय लिन पनि जोड दिएका छन् ।

प्रतिनिधिमण्डलमा पूर्व प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य राम सरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, नगराईन नगरपालिकाका मेयर बिनय यादव, काँग्रेसका युवा नेता राम पल्टन साह, प्रवेश चौधरी, क्षेत्र नम्बर ३ ‘क’ र ‘ख’ का सभापति छेदी राउत र रामचन्द्र पंजियार, नगराईन नपाका पूर्व उपमेयर, वडा नं. ३ र ४ का वडाध्यक्षहरू, नेपाल महिला संघकी केस निलम कर्ण, जिल्ला सदस्य अनिता श्रीवास्तव, प्रजातन्त्र सेनानी संघ मधेशका अध्यक्ष रामभरत साह र धनुषाका अध्यक्ष प्रमोद कुमार श्रीवास्तव, वडा नं. ७ का सभापति श्याम साह, विद्यार्थी नेता सुजित यादव लगायत नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।