एसपि रिपोर्टर
जनकपुरधाम, असार १६ :

मिथिला विहारी नगरपालिका–१० मा ड्रेगन फल खेतीसम्बन्धी दुईदिने तालिम कार्यक्रम सोमबारदेखि सुरु भएको छ । लक्ष्मी बहुउद्देश्यीय मत्स्य तथा पशुपंक्षी पालन फर्मको आयोजनामा सुरु भएको तालिममा नगरका २५ जना किसान सहभागी छन् ।
तालिम उद्घाटन गर्दै नगरपालिकाका नगरप्रमुख राजेन्द्र यादवले ड्रेगन फल खेतीले कम मेहनतमा राम्रो आम्दानी दिन सक्ने भएकाले विदेश जाने बाध्यताबाट मुक्ति पाउन यस्ता तालिम उपयोगी हुने बताए । उनले भने, “सुरुमा केही मेहनत गरेमा यो खेतीले लखपति मात्र होइन, करोडपति बन्न पनि सकिन्छ ।” कार्यक्रमका आयोजक तथा वडा नं. १०का अध्यक्ष ललितनारायण झाले आफूले सुरु गरेको ड्रेगन फल खेती अहिले आम्दानीको प्रमुख स्रोत बनेको बताए । उनले बजारमा बिक्री गर्न कुनै कठिनाइ नरहेको र उपभोक्ताहरू फार्ममै आएर किन्ने प्रवृत्ति बढेको जानकारी दिए ।

उनका अनुसार, “ड्रेगन फल खेती आयआर्जनको ठूलो सम्भावना बोकेको क्षेत्र हो, जसप्रति सबैले आकर्षण देखाउनु आवश्यक छ ।”
तालिम फार्मकै परिसरमा सञ्चालन भइरहेको छ, जहाँ सहभागीहरूले प्रत्यक्ष रुपमा खेती गर्ने तरिका अवलोकन र अभ्यास गर्न पाउनेछन् । स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिने ड्रेगन फलले क्यान्सर प्रतिरोधी क्षमता वृद्धि, शरीर शुद्धिकरण, कोलेस्टरोल नियन्त्रण, उच्च रक्तचाप, दम र कफजस्ता रोगहरूमा उपयोगी हुने विश्वास गरिन्छ ।