चन्दन कूमार महतो
रौतहट, असार २ :
रौतहटको प्रादेशिक अस्पताल गौरले एसएस स्कोरिङमा ९१% अंक प्राप्त गरी मधेश प्रदेशभरिमा लगातार दोस्रो पटक प्रथम स्थान हासिल गर्न सफल भएको हो। तीन महिनाअघि गरिएको एसएस स्कोरिङमा ८९% अंकका साथ अस्पताल पहिलो स्थानमा थियो। आज, २०८२ असार २ गतेको एसएस स्कोरिङ कार्यक्रममा ९१% अंक प्राप्त गरी यसले आफ्नो अग्रता कायम राखेको छ ।

अस्पतालका अध्यक्ष मो. अनवर हाशमीले कार्यक्रममा बोल्दै पहिला प्रादेशिक अस्पताल गौरलाई ’रेफर अस्पताल’का रूपमा चिनिने भए पनि अहिले धेरै सुधार भएको बताए। उनले आफ्नो प्रयास र मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको विशेष पहलले गर्दा ३ वर्षभित्र अस्पताललाई मधेश प्रदेशको आठौँ स्थानबाट दोस्रो पटक प्रथम स्थानमा ल्याउन सफल भएको बताए ।

आजको एसएस स्कोरिङ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, जिल्ला प्रहरी उपरीक्षक नेत्र मणि गिरी, प्रादेशिक अस्पताल गौर रौतहटका अध्यक्ष मो. अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, स्वास्थ्य कार्यालय रौतहट गौरका कार्यालय प्रमुख राजेश कुमार सिंह, लेखापाल जितेन्द्र यादव, मधेश प्रदेश एसएस स्कोरिङका कर्मचारीहरू लगायत अस्पतालका सम्पूर्ण कर्मचारी र पत्रकारहरूको उपस्थिति थियो।