एसपि रिपोर्टर
जनकपुरधाम, असार १ :

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले समाज रूपान्तरणमा कलाकार र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
प्रदेश सरकारअन्तर्गत चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको आयोजनामा जनकपुरधाममा सम्पन्न “संस्थागत विकाससम्बन्धी संवाद” कार्यक्रममा बोल्दै मन्त्री लेखीले सञ्चार र कला क्षेत्र समाजको चेतनास्तर उकास्ने सशक्त माध्यम भएको बताए । उनले मन्त्रालय स्रोत–साधनको भरपुर उपयोग गर्दै यस क्षेत्रको समग्र विकासमा सहयोग गर्न तयार रहेको उल्लेख गरे । साथै, समयमै बजेट र कार्यक्रम प्रस्ताव गर्न सम्बद्ध निकायलाई आग्रह गरे ।
मन्त्री लेखीले वर्तमान संविधानले मुलुकलाई थुप्रै अधिकार प्रदान गरिसकेको बताउँदै, प्राप्त उपलब्धिको संरक्षण गर्दै थप प्रगतिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न दलका प्रदेशसभा सदस्यहरूले पनि आफ्ना धारणा राखेका थिए । नेकपा (एकीकृत समाजवादी) का रत्नेश्वरलाल गोइतले चलचित्र बोर्डले कलाकारलाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। नेकपा (एमाले) की शारदा देवी थापाले चेतनामूलक चलचित्रमार्फत लागूपदार्थ दुव्र्यसन विरुद्ध जनचेतना फैलाउनुपर्ने धारणा व्यक्त गरिन्। नेपाली काँग्रेसका जीवछी यादवले मधेश प्रदेशका कलाकारहरूको तथ्यांक संकलन तथा संरक्षणका लागि नीति निर्माण आवश्यक रहेको बताए ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले प्रत्येक व्यक्तिमा आ–आफ्नै प्रतिभा हुने भएकाले नयाँ प्रतिभाको खोज र प्रवद्र्धनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । लोकतान्त्रिक समाजवादी पार्टीकी रमिता प्रधानले सामाजिक विकृति अन्त्य गर्दै भाषा र संस्कृतिको संरक्षणमा चलचित्र बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने बताइन् । नीति तथा योजना आयोगकी सदस्य डा. शिला मिश्रले चलचित्रमार्फत समाजमा व्याप्त विकृति र विसङ्गति अन्त्य गर्न सकिने भन्दै बोर्डले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममार्फत सञ्चार तथा कलालाई सामाजिक रूपान्तरणको मूल माध्यमका रूपमा स्थापित गर्दै, संस्थागत संरचना र कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।