एसपि रिपोर्टर
काठमाणडौं , जेठ ३१
: इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ । इजरायलले गरेको आक्रमणको २४ घण्टा नबित्दै बदलास्वरुप इरानले मिसाइल प्रहार गरेको हो ।

आक्रमणमा परी कम्तिमा तीन जनाको मृत्य भएको र दर्जनौं घाइते भएका अलजजिराले जनाएको छ ।शनिबार बिहान इजरायलको तेल अवीवमा भएको इरानी आक्रमणमा एक जना र मध्य इजरायलमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।इरानी आक्रमणपछि इजरायलको जेरुसेलम लगायतका क्षेत्रमा आपतकालीन साइरन बजेको थियो ।निसाना बनाइएको क्षेत्रमा धुँवाका मुस्लो उडिरहेको मिडियामा आएका भिडियोहरुमा देख्न सकिन्छ । आणविक केन्द्रहरुलाई निसाना बनाउनेगरी इजरायलले गरेको आक्रमणको प्रतिवादमा इरानले शनिबार बिहान १०० भन्दा बढी मिसाइल प्रहार गरेको छ । आक्रमणलाई इरानले ‘ट्रू प्रोमिस थ्री’ नाम दिएको छ ।मध्यपूर्वमा यससँगै फेरि तनाव बढेको छ । शुक्रबार इजरायल गरेको आक्रमणमा इरानका रिभोल्स्नरी गार्ड्स प्रमुख मेजर जनरल हुसेन सलामीसहित केही उच्च सैन्य अधिकारीहरुको मृत्यु भएको बताइएको छ ।साथै आणविक कार्यक्रम सञ्चालन भइरहेको इरानी केन्द्रहरुमा पनि इजरायलले क्षति पुर्‍याएको बताइएको छ । ‘राइजिङ लायन’ मिसन नाम दिएको इजरायलले इरानमाथि आक्रमण गरेको थियो ।इजरायली आक्रमणमा कम्तिमा ७८ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ३२० भन्दा बढीको घाइते भएका इरानी अधिकारीहरुले जनाएका छन् ।घटनापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले उच्च सैन्य अधिकारी, सैन्य कमाण्डर र पाँच आणविक वैज्ञानिकको मृत्यु भएको पुष्टि गरेका थिए ।आक्रमणलाई अपराधको संज्ञा दिँदै नेता खामेनीले इजरायलले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।इजरायलका प्रधामन्त्री बेन्जामीन नेतान्याहूले आवश्यक पर्दासम्म सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायली आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले सम्झौताका लागि ६० दिनको अल्टिमेटम दिएकोमा उनीहरुले त्यसलाई वेवास्ता गरेको बताएका छन् ।आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘दुई महिनाअघि मैले इरानलाई सम्झौता गर भनेर ६० दिनको अल्टिमेटम दिएको थिएँ ।उनीहरुले त्यो बेला गर्नुपथ्र्यो । आज ६१औं दिन हो । मैले उनीहरुलाई के गर्नुपर्ने हो भनेको थिएँ तर, उनीहरु त्यहाँ पुग्न सकेनन् । अब सायद उनीहरुलाई दोस्रो मौका मिलेको छ ।’अमेरिकाले इरानको आणविक हतियार विकास कार्यक्रम र युरनियम प्रशोधन कार्यलाई लिएर तीव्र असन्तुष्ट व्यक्त गर्दै रोक्न दबाब दिँदै आएको छ । तर, इरानले भने आणविक कार्यक्रम आफ्नो मुलुकको रक्षार्थ भएको भन्दै सम्झौताको प्रस्तावलाई अस्वीकार गर्ने गरेको छ ।इजरायली आक्रमणपछि अमेरिकासँग अब वार्ता र सम्झौताको ढोका बन्द भएको इरानको प्रतिक्रिया छ । साथै इरानले इजरायललाई आक्रमणमा थप सहयोग नगर्न अमेरिका, युके र फ्रान्सलाई चेतावनी दिएको छ ।अमेरिकाले भने इरानलाई बदलाभावले इराक लगायतका क्षेत्रमा रहेका आफ्ना सैन्य अड्डालाई निसाना नबनाउन भनेको छ ।