एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ३० :

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने दिशामा दुवै देशले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल टुरिज्म बोर्ड र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा जनकपुरधाममा आयोजित ‘मधेस टुरिज्म मीट २०२५’ मा बोल्दै नगरप्रमुख साहले त्रेता युगदेखि नै मिथिला र अवधबीच गहिरो सम्बन्ध रहेको स्मरण गराए । उनले भने, ‘देशको सिमाना जति नै बाँडिएको भए पनि, मिथिलावासीको भावना र सांस्कृतिक एकता कहिल्यै बाँडिदैन ।’
उनले मिथिला क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व उजागर गर्न ‘मिथिला मध्यमा परिक्रमा’ जस्तो परम्परागत अभ्यासको उदाहरण प्रस्तुत गरे । साहले विश्वास व्यक्त गरे कि यस्तो परिक्रमा तथा धार्मिक यात्रा कार्यक्रमहरूले मिथिलाको पहिचानलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

नगरप्रमुख साहले नेपाल–भारतबीच भिसा नलाग्ने विशेष सम्बन्धलाई उल्लेख गर्दै भने, ‘संसारमा थोरै देश मात्र छन् जहाँ यस्तो खुला सम्बन्ध छ । यसले नेपाल–भारतबीचको आत्मीयता र विश्वासको गहिराइ देखाउँछ ।’
कार्यक्रममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साहले दुवै देशका पर्यटन निकायहरूबीच दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
मधेस टुरिज्म मीट २०२५ मा भारत र नेपालको विभिन्न क्षेत्रका धार्मिक, सांस्कृतिक, र पर्यटन विज्ञहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेस क्षेत्रको पर्यटन सम्भावनालाई प्रवद्र्धन गर्ने रणनीतिमाथि छलफल गरिएको थियो । कार्यक्रम जेठ २९, ३० र ३१ गते गरी ३ दिनसम्म चल्ने छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डको निर्देशक हिक्मत सिंह शेरे, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, भारतको पर्यटन अभियन्ता डा. कौलेश कुमार लगायतको उपस्थिति रहेको थियो ।