एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २७ : प्रतिनिधीसभा सदस्य समेत रहेका नेपाली कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधिको विशेष पहलमा जनकपुरधाम सहित धनुषामा विभिन्न योजना संघिय सरकारको बजेटमा उल्लेख भएपछि युवाहरुमा उत्साह देखिएको छ ।
जनकपुरधामका युवा र विद्यार्थी अगुवाहरुले सांसद निधिलाई धन्यवाद ज्ञापन गर्दै योजनाहरु बारे उत्साह व्यक्त गरेका छन् । जनकपुरधामको राराब क्याम्पसका स्ववियू सभापति मनिष कुमार यादवले फेसबुक स्टाटस लेख्दै संघिय सरकारको बजेटको रातो किताबमा क्याम्पसमा तीन तल्ले परिक्षा हल भवन निर्माण तथा खेलमैदानको लागि नेविसंघ धनुषाको अनुरोधमा सांसद निधीको पहल र निरन्तर प्रयत्नबाट संघीय सहरी विकास मन्त्रालयबाट रु ३ करोड बजेट विनियोजन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

मनिषको सो स्टाटस पछि दर्जनौं विद्यार्थीहरु उत्साहित हुदै स्टाटस शेयर तथा लेखेर नेता निधि प्रति आभार व्यक्त गरेका छन् । त्यसै गरि जनकपुरमा उपमहानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका युवा नेता तथा कांग्रेस जनकपुुरधाम उपसभापति राकेश विक्रम साहले पनि आफनो अनुरोधमा संघिय सरकारको बजेटमा सांसद निधिले बजेट राख्न लगाएको भन्दै खुसी व्यक्त गर्दै आभार व्यक्त गरेका छन् ।

राकेशका अनुसार निधीको पहलमा धनुषा क्षेत्र नं. ३ को विभिन्न वडामा गरि कुल २१ करोडको योजनाहरु रातो कितावमा उल्लेख हुन सफल भएको छ । पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधि धनुषा क्षेत्र नं. ३ को विकासका साथै जनता माझ पुग्ने क्रममा तिव्रता दिइरहेका छन् ।





