एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २५ :

मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनजस्तो संवेदनशील विषयलाई कुनै पनि सरकारले प्राथमिकतामा नराखेको गुनासो गरेका छन् ।
गृह सञ्चार तथा कानून मन्त्रालयद्वारा महोत्तरीको बर्दिवासमा आयोजित विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री लेखीले मधेस प्रदेश सहित सम्पूर्ण देश नै हरेक वर्ष बाढी, आगलागी जस्ता विपद्को जोखिममा रहने गरे पनि प्रदेश सरकार मात्र नभई संघ सरकार पनि यसमा गम्भिर हुनु आवश्यक रहेको बताए ।

‘विपद् र सुरक्षा जस्ता महत्वपूर्ण विषयलाई सरकारले प्राथमिकतामा राख्नु जरुरी छ,‘ मन्त्री लेखीले भने, ’कम स्रोत साधन भए पनि हामीले योजनाबद्ध ढंगले विपद् नियन्त्रण र न्यूनीकरणतर्फ कदम चाल्न आवश्यक छ ।’
उनले मधेसका विभिन्न पालिकाहरूमा बारम्बार बाढी, डुबान, आगलागी लगायतका विपद्का घटनाहरू भइरहने उल्लेख गर्दै स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वयको खाँचो औंल्याए ।
कार्यक्रममा सहभागी विज्ञ र सरोकारवालाहरूले पनि विपद्को पूर्वतयारी र जनचेतनामूलक अभियानहरूलाई अझ व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए ।