एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २२ :
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्यमा ट्राफिक सचेतनामूलक साताव्यापी कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन गृहमन्त्री राजकुमार लेखीले जनकपुरधाममा प्रभातफेरी मार्फत गरेका थिए ।

उद्घाटन समारोहको प्रमुख अतिथि मुख्यमन्त्री सतिस कुमार सिंहले मधेशमा ट्राफिक नियम उल्लंघन अन्य प्रदेशको तुलनामा बढी भएको बताउँदै सबैले नियमको पालना गरे मात्र दुर्घटनाबाट बच्न सकिने बताए। उनले गाडी चालकको मनोविज्ञान र सतर्कता आवश्यक भएको उल्लेख गर्दै नागरिकले आजैबाट नियम पालना सुरु गर्नुपर्ने धारणा राखे।

गृहमन्त्री लेखीले ट्राफिक नियमको अवहेलन, लापरवाहीपूर्ण सवारी र लागू पदार्थ दुर्व्यसनका कारण युवाहरू ठूलो संख्यामा दुर्घटनामा परिरहेको प्रति चिन्ता व्यक्त गरे। उनले भने, “हरेक युवासँग दुई पाङ्ग्रे सवारीसाधन छ, तर त्यसको प्रयोगमा सावधानीको घोर अभाव छ। यही लापरवाहीका कारण हरेक वर्ष सयौं युवा ज्यान गुमाइरहेका छन्।”

उद्घाटन कार्यक्रममा प्रदेश सचिव बिमल प्रसाद बराल, नेपाली सेना, सशस्त्र प्रहरी, प्रदेश प्रहरी तथा अनुसन्धान निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो। ट्राफिक सप्ताह भरि विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने छ।