एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २१ :
जनकपुरधामस्थित जानकी आँखा अस्पतालको बेथिति विरुद्ध सुधारको माग गर्दै जानकी आँखा अस्पताल सुधार संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार समितिका अध्यक्ष रामसिंह यादवले अस्पतालमा देखिएका कर्मचारी नियुक्ति, औषधी पसल सञ्चालन, आर्थिक अनियमितता लगायतका समस्याबारे ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेका हुन्।

यसअघि गठन भएको छानबिन समितिको प्रतिवेदनले अस्पतालमा गम्भीर आर्थिक, प्रशासनिक अनियमितता भएको उल्लेख गरे पनि अहिलेसम्म कार्यान्वयन नभएकोप्रति समितिले गम्भीर आपत्ति जनाएको छ। अस्पतालले बिना अनुमति सञ्चालन, आयकर नतिर्ने, कर्मचारी भर्नामा मनोमानी, औषधी खरिदमा अनियमितता, तथा मापदण्ड विपरीत अस्पताल सञ्चालनजस्ता त्रुटिहरू गरेको आरोप छ।
संघर्ष समितिले एक हप्ताभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।





