एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १४ : 
जन जनमा गणतन्त्र दिवसको सन्देश पुर्याउने अभिप्रायले मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
गृह मन्त्रालय परिसरमा गृहमन्त्री राजकुमार लेखीको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा मन्त्रालयका गृह सचिव बिमल प्रसाद बराल, प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, कर्मचारीहरु , नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा लगायतको उपस्थिति रहेको थियो ।

गृह मन्त्रालयले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको औपचारिक रुपमा अभिनन्दन गर्ने कार्यक्रम समेत आयोजना गरेको छ । पत्रकारितामार्फत निरङ्कुश शासनविरुद्ध आवाज उठाउने तथा लोकतन्त्रको जग मजबुत बनाउन योगदान दिने सञ्चारकर्मीहरूको सम्मानमा समर्पित कार्यक्रम ऐतिहासिक रुपमा महत्वपूर्ण हुने बताइएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यले उनीहरूको योगदानलाई औपचारिक रुपमा सम्मान गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले गणतन्त्र दिवसले समानता, स्वतन्त्रता र उत्तरदायित्वको भावना फैलाउने विश्वास व्यक्त गरे ।