एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १३ :
धनुषाको पत्रकारिता जगत शोकमा डुबेको छ । विभिन्न दुईवटा शोकका घटनाहरुले पत्रकारिता क्षेत्र मर्माहित छन् । अभिभावक र एक नव उदयमान प्रतिभा गुमाएको पिडामा धनुषा पत्रकारिता परेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष तथा अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता गोविन्द महतोलाई मातृशोक परेको छ । उनकी आमा रामदुलारी देवी महतोको ५८ वर्षको उमेरमा सोमबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार रामदुलारी देवी महतो विगत केही समयदेखि अस्वस्थ थिइन् । सोमबार राति अचानक उनको निधन भएको हो ।

यस दुःखद घडीमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र धनुषा शाखाले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासंघले पत्रकार गोविन्द महतोसहित शोकमा रहेका सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

‘यस दुःखद घडीमा हामी पत्रकार महतोसहित सम्पूर्ण शोकसन्तप्त परिवारसँग ऐक्यबद्धता प्रकट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । श्रद्धाञ्जलीसहितको विज्ञप्ति महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो क्रान्ति र धनुषा शाखाका सचिव बटुकनाथ झाले जारी गरेका हुन् ।

पत्रकारितामा लामो समयदेखि सक्रिय रहँदै आएका गोविन्द नेपाल पत्रकार महासंघको जिम्मेवारीसँगै जनपक्षीय पत्रकारितामा विशेष योगदान दिँदै आएका छन् । आमाको असामयिक निधनबाट उनी गहिरो पीडामा छन् ।

नव उदयमान पत्रकार सालुको निधन

एता जनकपुरधामस्थित कलर्स एफएम १०२.४ मेगाहर्जमा कार्यरत उदयिमान सञ्चारकर्मी सालु झाको आइतबार साँझ मस्तिष्कघातका कारण असामयिक निधन भएको छ । धनुषा जिल्लाको नगराइन नगरपालिका–७, देवडिहा निवासी सञ्चारकर्मी झा केही समयदेखि स्वास्थ्यमा समस्या देखिए पनि सक्रियताका साथ कलर्स एफएममा कार्यक्रम प्रस्तोता र संवाददाताका रूपमा कार्यरत थिइन् ।

परिवारजनका अनुसार आइतबार साँझ अचानक मस्तिष्कघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरे । कलर्स एफएमसँगको एक वर्षको कार्यकालमै उनले श्रोतामाझ लोकप्रियता कमाएकी थिइन् । उनको आवाज, प्रस्तुती र समाचारमा देखिने संवेदनशीलता प्रशंसनीय मानिन्थ्यो । सञ्चारकर्मी झाको असामयिक निधनले मधेशको पत्रकारिता विशेषतः महिला पत्रकारिता क्षेत्रमा ठूलो क्षति भएको जनाइएको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र धनुषा शाखाले झाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली वक्तव्य सार्वजनिक गरेको छ । महासंघका महासचिव शैलेन्द्र महतो क्रान्ति र धनुषा सचिव बटुकनाथ झा द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झाजस्तो उर्जावान, प्रतिबद्ध र संवेदनशील सञ्चारकर्मीको असामयिक निधनले महासंघ स्तब्ध र दुःखी छ । उनको योगदान सधैं स्मरणीय रहनेछ ।’

महासंघले दिवंगत झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा झाको आत्माको चिरशान्तिको कामनासमेत गरिएको छ ।

सालु झाले छोटो समयमा नै महिला सञ्चारकर्मीका रूपमा प्रेरणा बन्ने संकेत दिएकी थिइन् । उनले सामाजिक मुद्दा, लैङ्गिक समानता र युवाका आवाजलाई मिडियामार्फत् उठाउने प्रयास गरिरहेकी थिइन् । सहकर्मीहरूका अनुसार झा जिम्मेवार, आत्मविश्वासी र सिर्जनशील पत्रकार थिइन् ।