एसपि रिपोर्टर
चितवन , जेठ ९ : पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन खैरहनी नगरपालिका–२ ज्यामिरे चोकमा बिहीबार राति बस र कार ठक्कर खाँदा कार चालकको ज्यान गएको छ । निधन हुनेमा खैरहनी–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिना रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले जानकारी दिएका छन् ।
राति पौने दुई बजेतिर तिमिल्सिनाले चलाएको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको विद्युतीय (ईभी) कार बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको यात्रु बससँग ठक्कर खाएको प्रहरीले जनाएको छ । बस उदयपुरबाट काठमाडौं जाँदै थियो भने कार त्यसको विपरीत दिशाबाट आउँदै थियो । बससँग ठोक्किएपछि सख्त घाइते भएका कार चालक तिमिल्सिनालाई चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।उपचारका क्रममा बिहानीपख तीन बजेर पाँच मिनेट जाँदा तिमिल्सिनालाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी खनालले बताए । ठक्कर खाएका दुवै गाडी र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।केही दिनयता चितवनका राजमार्ग र भित्री सडकमा मोटरसाइकल र साना गाडीहरू दुर्घटना हुने क्रम बढेको छ । यसलाई कम गर्न प्रहरीले जाँचलाई कडिकडाउ पार्नुका साथै चालकलाई सचेत गराउने अभियान सुरु गरेको चितवन प्रहरीले जनाएको छ ।





