एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ८ : जनमत पार्टीका बसन्त कुमार कुशवाहा र सञ्जय यादवले बिहीबार मधेस सरकारमा मन्त्रीको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा १२ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। संविधानको धारा १६८ (९) अनुसार गठित मन्त्रिपरिषद्मा गृहमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधार मन्त्री सरोज यादव, कृषि मन्त्री जनार्दन क्षेत्री, शिक्षा मन्त्री रानी तिवारी, स्वास्थ्य मन्त्री शत्रुधन सिंह, अर्थ मन्त्री सुनिल यादव, खेलकुद मन्त्री प्रमोद जयसवाल, खानेपानी मन्त्री शेष नारायण यादव, श्रम मन्त्री कौशल किशोर राय, उद्योग मन्त्री बसन्त कुशवाहा र वन मन्त्री सञ्जय यादव रहेका छन्।






