एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ७ : गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले आफनो मन्त्रालयको बजेट वृद्वि गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा, विपत्त व्यवस्थापन, सुरक्षा निकाय, शहिद, सञ्चार सबै महत्वपुर्ण क्षेत्र यस मन्त्रालय अन्तर्गत पर्ने भएपनि बजेट न्युन हुँदा समस्या भएको बताए ।
मन्त्री लेखीले शहीदहरूलाई सम्झन केवल समारोह र भाषणमा सीमित रहन नहुने स्पष्ट पारे । ‘एक दिनको नाचगान र भोजभतेरले शहीदको सम्मान हुँदैन । उनीहरूको सपना पूरा गर्ने हो भने परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ,’ मन्त्री लेखीले थपे । उनले आठ जिल्लाका पत्रकार महासंघका लागि फर्निचर र उपकरण प्रदान गर्ने समेत बताए ।

उनले चालु आर्थिक वर्षमै शहिद परिवारका छोराछोरीहरुलाई छात्रवृती प्रदान गर्ने र त्यसका लागि ५० लाख छुटयाइएको, शहिद परिवारका लागि शिपमुलक प्रशिक्षण प्रदान गरिनुका साथै जिविको पार्जनका लागि सम्बन्धित शिपका समाग्री समेत हस्तान्तरण गर्न लागेको बताए । यस अघिका सरकारहरुले ६० लाखमा शहिदलाई सम्मान मात्र गरेको बताउदै उनले आफुले रोजगारीका लागि काम गरिरहेको बताए ।
शहिद र सञ्चारकै योगदानले देश र मधेशले उपब्लधी हाँसिल गरेको भन्दै उनले कृषि र भौतीक पुर्वाधारलाई मात्र अधिक बजेट दिएर नहुने जिकिर गरे । उनका अनुसार नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । बजेट निर्माणमा सञ्चार क्षेत्र र शहीद परिवारको सम्मान तथा सशक्तिकरणलाई प्राथमिकतामा राखिएको उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, प्रदेशका महासचिव शैलेन्द्र महतो सहितकाले पत्रकार महासंघको विकास, क्षमता अभिवृद्विमा ध्यान दिन आग्रह गरे ।





