एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ४ : जनकपुरधाम उद्योग वाणिज्य संघले शनिवार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैया स्थित जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि. वाटरपार्कमा भएको तोडफोड घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीको पहिचान, क्षतिपूर्ति र कडा कानुनी कारबाहीको मांग गरेको छ ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अगुवाईमा पुगेको व्यापारी अगुवाहरुको समुहले प्रमुख जिल्ला अधिकारलाई ज्ञापन पत्र बुझाउदै शनिवार केही अराजक तथा उच्छृगंल समूहले नयाँ सञ्चालनमा आएको सो फन पार्कमा तोडफोड गरी उल्लेख्य क्षति पु¥याएको र यस घटनाले उद्योग, व्यापार तथा लगानीको वातावरणमै प्रतिकूल असर पारेको भन्दै संघले सुरक्षा निकायको भूमिका अपर्याप्त रहेको स्पष्ट पारेको छ ।

“जनकपुरधाम मधेश प्रदेशको राजधानी बनेपछि यहाँ उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ,“ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “तर पर्याप्त सुरक्षा नहुँदा यस्ता आपराधिक घटनाले लगानीकर्तामा त्रास फैलाएको छ ।“ संघले घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न, पिडित फन पार्कलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन स्थायी सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

सो अवसरमा पुर्व अध्यक्ष रमेश साह, ई. प्रकाशचन्द्र साह, ललित साह, उपाध्यक्ष गौतम साह, महासचिव फुलदेव पण्डित, पुर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह सहितको उपस्थिती थियो ।