एसपि रिपोर्टर
जनकपुरधाम, जेष्ठ ३ : क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैया स्थित सञ्चालित जनकपुरधामकै लागि आकर्षणको थप एक थलो वण्डरलैण्ड वाटरपार्कमा शनिवार भएको तोडफोड र क्षतिको घटना प्रति जनकपुरधाम उद्योग बाणिज्य संघले आपती जनाउदै जनकपुरधाम विकास विरुद्वको षडयन्त्र भनेको छ । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले एक विज्ञप्ती जारी गर्दै घटना निन्दनिय र दण्डनिय रहेको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘मधेश प्रदेशको राजधानी जनकपुरधामको समुचित विकास, पर्यटकहरुका लागि थप एक मनोरम र मनोरञ्जनात्मक स्थलका साथै जनकपुरधाम र यस क्षेत्रकै घर परिवारका लागि फुर्सतको साथीका रुपमा स्थापित वाटरपार्कमा शनिवार कुनै पनि वाहानमा भएको तोडफोड र उछृंगल कार्य दण्डनिय छ क्षमायोग्य छैन ।’

करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो वाटरपार्क मधेश प्रदेशकै सबैभन्दा उत्कृष्ट स्थलको रुपमा प्रचार प्रसार भइरहेका बेला भएको गलत क्रियाकलापले जनकपुरधाम र यस क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई भगाउने दुष्प्रयासको रुपमा रहेको संघको अनुमान छ । पहाडका जिल्लाहरुमा यस्तै स्थलहरुको विकास र स्थापना भई पर्यटनको विकास भइरहेका वेला मधेशमा भइरहेको यस्तो दुष्प्रयासलाई तुरन्त निरुतसाहित गर्न आवश्यक छ, भण्डारीले भनेका छन् ।





