एसपि रिपोर्टर
भैरहवा , बैशाख २६ : भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जान थालेपछि भारतसँग जोडिएका रुपन्देहीका सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुख्य नाका बेलहियासहित अन्य रुपन्देहीको लुम्बिनी, भगवानपुर, मर्चवार, दुर्गौलियालगायत नाकाबाट आवतजावत गर्ने यात्रुलाई नेपाल–भारत दुवै देशका नागरिकप्रति विशेष निगरानी, सोधखोज, आवश्यकताका आधारमा खानतलासी गर्ने गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दुई देशबीच द्वन्द्व चर्किँदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको बताएका छन् ।‘सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट संयुक्त र छट्टाछट्टै ढंगबाट पनि सीमा नाकामा विशेष सुरक्षा सतर्कता र निगरानी बढाइएको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘भारत र नेपालबीचको आउजाउका क्रममा कुनैपनि प्रकारको अवैध आवतजावत हुन नदिनका लागि प्रभावकारी ढंगबाट सुरक्षा निगरानी बढाइको छ ।’ उनका अनुसार, अवैध आवतजावतको सम्भावित स्थानको पनि पहिचान गरी सुरक्षा निकायबाट निगरानी बढाइएको छ ।सशस्त्र प्रहरीले रुपन्देहीसँगको सीमा नाकामा तालिम प्राप्त कुकुर नै परिचालन गरेर निगरानी गरेको छ । सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट सीमा क्षेत्रको सुरक्षार्थ कुकुर परिचालन गर्ने (डग ह्यान्डलर) सहित ‘डेजी’ र ‘साया’ नामका तालिम प्राप्त कुकुर यसअघि नै उपलब्ध गराएको थियो । अहिले ती कुकुरको आवश्यकता अनुरुप सीमा नाकामा परिचालन गएको छ ।कतिपय अवस्थामा परिचय पत्र हेरेर मात्रै नेपाल प्रवेश गर्न दिएको र नेपाल प्रवेश गर्नेको अभिलेख समेत राख्ने गरिएको प्रमुख जिल्ला अधिकारी घिमीरेले जनाए । सीमावर्ती नाकाहरुमा सुरक्षाकर्मीले गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गर्ने गरेका छन् ।रुपन्देहीको भारतसँग करिब ७० किलोमिटर सीमा क्षेत्र जोडिएको छ । सीमा नाका र सिमाना क्षेत्रमा सुरक्षाकर्मी बाक्लो उपस्थिति छ ।भारतले पनि मुख्य र भित्री नाकामा समेत सीमा सुरक्षा बल तैनाथ गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले भारत छिरेका यात्रुलाई सोधपुछ, खानतलासी गर्ने र आवश्यकताका आधारमा भारत प्रवेश गर्ने सर्वसाधरणको फोटो खिचेर राख्ने गरेका छन् ।