एसपि रिपोर्टर
काठमाणडौं, बैशाख २४ : प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत– पाकिस्तानले तनावले नेपाललाई पार्न सक्ने प्रभावबारे चनाखो रहन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व परराष्ट्रमन्त्री साउदले दुई देशबिचको तनावको विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । साउदले छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।कांग्रेस सांसद गौतमले भारत–पाकिस्तान तनावले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बिचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।उनले सरकारलाई समयमै भारत–पाकिस्तान तनावले हाम्रो देशलाई पार्ने प्रभावमा छलफल अगाडि बढाउन आग्रह गरे । गौतमले राजनीतिक दलका शीर्ष नेताहरू पनि राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेको सुझाव दिए ।सांसद शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता के हो खुलाउन आवश्यक रहेको बताए ।स्वतन्त्र सांसद सिंहले पनि भारत– पाकिस्तान तनावको प्रभाव नेपाल–भारतको खुला सीमाका कारण पर्ने भन्दै त्यसबारे बेलैमा ध्यान पुर्‍याउन सरकारसँग माग गरे । भारत पाकिस्तान तनावबारे बोल्ने सांसदहरूले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दासमेत गरेका थिए । २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव सृजना भइरहेको छ । पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले जवाफी हमला सुरु गरे पछि तनाव उत्पन्न भएको छ ।

हिजो रातिबाट भारतले गरेको आक्रमणमा परेर पाकिस्तानका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको छ भने ३५ बढी घाइते भएका छन् ।