एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २३ : नेपाली सेनाले बनाइरहेको देशकै महत्वकांक्षी आयोजना मधेशको निजगढ–काठमाण्डौं ७० किलोमिटर द्रुतमार्गको करिव ४० प्रतिशत काम सम्पन्न भएको छ ।
सेनाको महोतरीको बर्दिवास स्थित श्री मध्य पुर्वी पृतना हेडक्वाटरद्वारा मधेशका आठ, सिन्धुली, दोल्खा र रामेछाप गरि कुल ११ जिल्लाका पत्रकारहरुलाई लक्षित गरि आयोजित रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव अनुप केसीले प्रस्तुत गरेको पछिल्लो प्रगति विवरण अनुसार द्रुतमार्गको ३९.३४ प्रतिशत भौतिक र ४१.०६ प्रतिशत वित्तीय प्रगती देखिन्छ ।
२०८३ चैत्र सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको आयोजना मधेश र देशकै लागि बहुप्रतिक्षित हो । यो द्रुतमार्ग सञ्चालनमा आएपछि तराई मधेशको नजिगढबाट काठमाण्डौं पुग्न मात्र डेढ देखि दुई घण्टा लाग्ने भएपछि आयोजना र यस्को निर्माण सवत्र चासोको विषय बनेको छ ।
रक्षा संवाददादा अभिमुखिकरण
नेपाली सेनाको संगाठनिक संरचना, कार्यसम्पादन, कार्यक्षेत्र, क्षेत्राधिकार, निकाय, अड्डा र संरचनाहरुको विभाजन, ऐन नीति तथा कानुन सहित नेपाली सेनाको समग्र विषयमा जानकारी गराउदै सम्बन्धी विषयमा समाचार संकलन गर्दा दिनु पर्ने ध्यान र समाचार सन्तुलनका लागि सेना संगको समन्वयमा सहजताको उद्देश्यले पाँच दिवसीय अभिमुखिकरणको आयोजना गरिएको पृतनाका पृतनापति कृष्ण बहादुर जि.सी.ले बताए ।
अभिमुखिकरणमा सेनाको पृष्ठभुमि र परिचय, रक्षा मन्त्रालय र नेपाली सेना, राष्ट्रिय सुरक्षा नीति सम्बन्धी जानकारी, सेनाको तैनाथी, सेनावाट भइरहेको विकास निर्माण, जनसम्पर्क तथा सुचना निर्देशनालय सहित पत्रकारहरु संग सम्बन्धीत निकायहरुको काम, सेनामा भर्ना र समावेशिता सहितका विविध विषयहरुमा जानकारी गराउदै शैनिक कार्यप्रणाली र सञ्चारगतको सम्बन्ध अभिवृद्वि र पेशागत सम्बन्धलाई सकारात्मक तथा प्रभावकारी बनाउदै सञ्चार माध्यमको उपयोगिताले ११ जिल्लाका २७ जना पत्रकारहरुलाई पृतनामै आयोजित अभिमुखिकरणमा सहभागि गराइएको श्री मध्य पुर्वी पृतना हेडक्वाटर बर्दिवासले जनाएको छ । अभिमुखिकरणको क्रममा खेल र स्थलगत भ्रमण अवलोकनका माध्यमले पनि पत्रकारहरुलाई शैनिक गतिविधीको जानकारी गराइने कार्यक्रम छ ।


