एसपि रिपोर्टर
राजविराज, बैशाख २२ : चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि राजविराज भन्सार कार्यालयले लक्ष्यको ५५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । गत वर्ष भन्सारले चैत महिनासम्ममा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको थियो ।
गत वर्ष कूल ६ करोड ५० लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले चैतसम्ममा ५ करोड ६२ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने असारसम्ममा लक्ष्यको १ सय २४ प्रतिशत (८ करोड ७ लाख ४७ हजार) राजस्व उठाएको थियो ।तर, चालु आर्थिक वर्षमा कूल ८ करोड ८१ लाख ७९ हजार रुपैयाँ लक्ष्य लिएको भन्सारले चैतसम्ममा ५५ प्रतिशत (४ करोड ८५ लाख ७२ हजार १ सय ३८) मात्रै राजस्व संकलन गर्न सकेको छ ।भन्सार कार्यालयका तथ्यांकअनुसार यस वर्ष साउनमा ३८ लाख ८८ हजार ८ सय २४, भदौमा १९ लाख ३८ हजार २ सय ४९, असोजमा ६८ लाख ४६ हजार २ सय १५, कात्तिकमा ८७ लाख ७१ हजार ६ सय ७८ रुपैयाँ राजस्व संकलन भएको छ ।त्यस्तै, मंसिरमा ५१ लाख २६ हजार ७ सय ९, पुसमा ६८ लाख ८९ हजार २ सय ७१, माघमा ३० लाख ४४ हजार ३ सय ७८, फागुनमा ३४ लाख २९ हजार ८ सय ६७ र चैत्रमा ८६ लाख ३६ हजार ९ सय ४७ रुपैयाँ राजस्व संकलन भएको छ ।भन्सार अधिकृत सत्यनारायण सिंहले भारतसँग जोड्ने सडकमा पुल नहुँदा राजस्व संकलनमा कमी आएको बताए ।
‘जनवरी र फेब्रुअरीमा भारतले नेपालतर्फको कस्टम नकाट्दा तथा सीमानाकामा हुने चोरी पैठारीले पनि राजस्व संकलनमा कमी आएको हो’ उनले भने, ‘तर, लक्ष्य पूरा गर्न हामी प्रयासरत छौं ।’


