एसपी रिपोर्टर
सिरहा , बैशाख १९ : भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको चरमपन्थी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा पाकिस्तानविरुद्ध प्रदर्शन गरिएको छ।
पाकिस्तानले चरमपन्थीहरूलाई संरक्षण गरेको आरोप लगाउँदै धर्मराज हिन्दु सेनाको अगुवाइमा बुधबार आयोजित विरोध प्रदर्शनमा सयौँ स्थानीयवासी सहभागी भए। प्रदर्शनको नेतृत्व कृष्ण गुरागाईं (हनी सिंह) ले गरेका थिए। उनले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएका थिए। प्रदर्शनकारीहरूले “आतंकको आडमा मित्रता स्वीकार्य छैन” भन्दै पाकिस्तानविरोधी नारा लगाएका थिए।प्रदर्शनका क्रममा गोलबजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो। विरोध प्रदर्शनमा नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजनाको समेत विरोध गरिएको छ। स्थानीयवासीहरूले उक्त योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
चरमपन्थी आक्रमणमा सुदीप न्यौपानेसहित २७ जना पर्यटकको ज्यान गएको थियो। नेपाली युवकको मृत्युले देशभर शोक र आक्रोशको लहर फैलिएको छ।


