एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १९ : ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयले शाहको निधनप्रति गहिरो दुःख प्रकट गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको हो। विज्ञप्तिमा भनिएको छ, “यो दुःखद घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ।” मन्त्रालयका अनुसार ओडिसा सरकारले मृतक शाहको परिवारलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ र घटनाको विस्तृत अनुसन्धान प्रहरीले गरिरहेको छ।भारतीय विदेश मन्त्रालयले नेपालसहित सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, हित र सुरक्षासम्बन्धी चिन्ताप्रति आफू अत्यन्त संवेदनशील रहेको उल्लेख गरेको छ। मन्त्रालयले यस घटनासम्बन्धमा नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार र केआईआईटी व्यवस्थापनसँग समन्वयमा रहेको जनाएको छ।वीरगञ्जकी १८ वर्षीया प्रिसा शाह केआईआईटीमा स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थी थिइन्। घटनाबारे जानकारी प्राप्त भएपछि भुवनेश्वर प्रहरीका वरिष्ठ अधिकारीहरू र फरेन्सिक टोली कलेज पुगेको थियो। घटनास्थल सुरक्षित गरी शव अस्पताल पठाइएको छ। पोस्टमार्टम मृतकका पिता पुगेपछि मात्र गरिने बताइएको छ।

यसअघि पनि फागुन दोस्रो साता केआईआईटीमै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। उनले मानसिक यन्त्रणाबारे कलेज प्रशासनमा पटकपटक उजुरी दिएकी थिइन्, तर गुनासोको सुनुवाइ नभएपछि आत्महत्या गर्नुपरेको भनिएको थियो।

सभार अनलाइन खबर