एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ :
श्रम तथा रोजगार कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा पाँच जिल्लाका ३० हजार ६२ जनालाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरेको छ।
धनुषाको लक्ष्मीनियामा मंगलबार आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाका नागरिकहरूलाई लक्षित गरी संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः श्रम स्वीकृतिसहित कुल ३० हजार ६२ जनालाई स्वीकृति दिइएको हो।


भुजेलका अनुसार चालु आर्थिक वर्षमा कार्यालयमा ४६ वटा श्रमसम्बन्धी उजुरी दर्ता भएका छन्, जसमा अधिकांशको समाधान भइसकेको छ भने बाँकी उजुरी पनि आर्थिक वर्षको अन्त्यसम्ममा टुंग्याउने तयारीमा रहेको जानकारी दिए। साथै, कार्यालयले ११२ वटा उद्योग तथा प्रतिष्ठानको निरीक्षण गरी श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ को कार्यान्वयन अवस्थाको अनुगमन गरेको बताइएको छ।
उनले सीमित जनशक्ति, स्रोत-साधनको अभाव र श्रमिक तथा रोजगारदाताबीच चेतनाको कमीका कारण श्रम ऐन कार्यान्वयनमा चुनौती रहेको पनि उल्लेख गरे। सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको र साना तथा मझौला उद्योगमा कानुनी दायित्व पालना गर्ने प्रवृत्ति कमजोर देखिएको भुजेलको भनाइ थियो।
कार्यक्रममा कार्यालयले हासिल गरेका केही उपलब्धिहरू पनि सार्वजनिक गरियो। एभरेष्ट पेपर मिल्स प्रालिमा उत्पन्न श्रम विवाद त्रिपक्षीय छलफलमार्फत समाधान गरिएको, श्रम अदालतका फैसलाहरू कार्यान्वयन गर्दै तीन उद्योग प्रतिष्ठानका बैंक खाता तथा अचल सम्पत्तिहरू रोक्का गरिएको, र आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न गरिएको जानकारी दिइयो।
चालु आर्थिक वर्षमा ११२ वटा बालश्रम निरीक्षण, ११८ वटा श्रम अडिट र श्रमिक तथा रोजगारदाता लक्षित विभिन्न सचेतना तथा अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न गरिएको कार्यालयले जनाएको छ। साथै, कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रणाली अब अनलाइन माध्यमबाट उपलब्ध गराइएको पनि जानकारी दिइयो।
कार्यक्रममा श्रम प्रशासनसम्बन्धी मुख्य चुनौतीहरूमध्ये निरीक्षण तथा अनुगमनमा प्रभावकारिता नहुनु, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षाको प्रत्याभूति नहुनु, र श्रम कानुनसम्बन्धी जानकारीको अभाव प्रमुख रहेको उल्लेख गरियो।