एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १२ : 
देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउने लक्ष्यसहित स्थापना गरिएको राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय स्थापना गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कार्यालयको उद्घाटन गरे।


ताजा तरकारी, फलफूल र किराना सामग्रीको होम डेलिभरी सेवा प्रदान गर्दै आएको कम्पनीले कृषि क्षेत्रमा आधुनिक र व्यवस्थित प्रणालीमार्फत योगदान पुर्‍याउने उद्देश्यले यो शाखा स्थापना गरेको हो।
उद्घाटन समारोहपछि जनकपुरधाम उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषि नै देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए। उनले मधेश प्रदेशको मुख्य आयस्रोत कृषि भएको जनाउँदै, राष्ट्रिय कृषि कम्पनीको प्रयास सराहनीय भएको र प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले विषादीमुक्त तरकारी, फलफूल तथा खाद्यान्नको उत्पादन, बिक्रीवितरण, निर्यात, कृषि उपजको क्यानिङ, कृषि पर्यटन, शीतभण्डारण र कृषि बजार सञ्चालनलगायतका कार्यक्रमहरू अगाडि बढाएको छ। साना व्यवसायीका लागि ५० हजार र ठूला व्यवसायीका लागि २० लाख रुपैयाँसम्मको शेयर लगानीको सीमा निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ।
‘माटोदेखि सफलतासम्म’ भन्ने नारासहित अघि बढेको कम्पनीले पाँच वर्षभित्र क्यानिङ प्लान्ट, कृषि पर्यटन रिसोर्ट, किसान सशक्तिकरण कार्यक्रम, ई–कमर्स एप निर्माण तथा राष्ट्रिय कृषि शीत भण्डारण लिमिटेड नामक सहायक कम्पनी स्थापनाको योजना अघि बढाइरहेको छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष विशाल हुमागाईको अध्यक्षता रहेको थियो भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सोडिन नेपालका अध्यक्ष प्रा. डा. मोहन हुमागाई, जनकपुरधाम शाखा प्रमुख रविन्द्र पजियार र शेयरधनी देवप्रसाद दुलाललगायत वक्ताहरूले कृषि क्षेत्रको भविष्य र सम्भावनामाथि धारणा राखेका थिए।