एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १२ : प्रतिनीधिसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेको प्रसंगमा आफनो नाम जोडेर भ्रामक र कपोकल्पित समाचारहरु आएकोमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आपती जनाएका छन् । सहमहामन्त्री यादवले आफना दुईजना छोराहरुको नाम आकाश र विकास रहेकोमा षडयन्त्र र बदनाम गर्ने हिसावले हुदै नभएको मुकेश यादवलाई आफनो छोरा बनाएर प्रकाशित समाचारहरु प्रति आपती जनाएका छन् ।
तपाँईको छोरा मुकेश वास्तवमै पक्राउ परेको हो भन्ने प्रश्नमा सप्तरीमा रहेका उनले भने, ‘यस्तो भ्रामक र बदनियतपुर्वक आएको समाचार निन्दनीय छ, म आफै आश्चर्यमा छु, मुकेशलाई म चिन्दै चिन्दिन ।’ आजको प्रतिनीधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले गृहमन्त्रीलाई ध्यानाकर्षण गराउदै भाटभटेनीमा भएको लुटपाटमा तपाँइकै पार्टीका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेका थिए किन तुरन्तै छोडनुभयो ? भन्दै प्रश्न गरेका थिए ।
लिङ्देनको सो भनाईलाई लक्षित गर्दै केहि अनलाईन सञ्चारमाध्यममा कांग्रेस सहमहामन्त्री यादवको छोरा मुकेश पक्राउ परेको र पछि छोडिएको समाचार प्रकाशित भएपछि सहमहामन्त्री यादवको आपती छ । ‘मेरो छोरा मुकेश हो कि होइन, साँच्चै पक्राउ परेको हो कि होइन ? कम्तिमा सोध्नुपर्छ नि’ प्रश्न गर्दै यादवले दुःख व्यक्त गरेका छन् ।
उनले आफना दुई छोरोहरु कुशल चिकित्सक रहेको बताउदै डा. आकाश यादव र डा. विकास यादव रहेको पनि बताए ।


