एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ८:
मधेश प्रदेश सरकार अन्तर्गत सञ्चार क्षेत्रको नियमन, अनुगमन तथा विकासमा संलग्न दुई प्रमुख निकाय मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयअनुसार मिडिया काउन्सिलको अध्यक्षमा पत्रकार कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्षमा पत्रकार जीतेंद्र खड्ग नियुक्त भएका हुन्। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेशका गृहमन्त्री राजकुमार लेखीले उनीहरूलाई शपथ गराए।
बाराका उपाध्याय र सप्तरीका खड्ग दुवै सञ्चार तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन्। उनीहरूको अनुभव, दक्षता तथा स्थानीय सन्दर्भप्रति गहिरो बुझाइलाई ध्यानमा राख्दै प्रदेश सरकारले उनीहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री सतीश कुमार सिंहले अध्यक्षद्वयलाई बधाई तथा शुभकामना दिँदै सञ्चार क्षेत्रको मर्यादा, स्वायत्तता र उत्तरदायित्व सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए।
“सञ्चार माध्यम राज्य र जनताबीचको सेतु हो। त्यसैले निष्पक्षता, नैतिकता र पारदर्शिताको आधारमा सञ्चार क्षेत्रको विकास तथा सुधार अपरिहार्य छ,” मुख्यमन्त्री सिंहले भने। साथै, उनले सञ्चार क्षेत्रमा देखिएको विकृति, पूर्वाग्रह र अव्यवस्था अन्त्य गरी जिम्मेवार तथा सकारात्मक पत्रकारिताको प्रवद्र्धन गर्न आह्वान गरे। उनले विगतका राम्रो अभ्यासलाई निरन्तरता दिँदै सुधारात्मक पहलका लागि पनि आग्रह गरे।
गृहमन्त्री लेखीले सञ्चार क्षेत्रको संस्थागत विकास, मापदण्ड निर्माण, सञ्चार माध्यमहरूको दर्ता, निगरानी तथा व्यवसायिक आचारसंहिताको पालना सुनिश्चित गर्न मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए। नवनियुक्त अध्यक्षद्वयले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै सञ्चार क्षेत्रको मर्यादा कायम राख्ने, पत्रकारको हक–हित सुनिश्चित गर्ने तथा प्रदेशस्तरीय सञ्चार संरचना सुदृढ गर्ने कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।


