एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ८ :
नेपालका शिक्षकहरु नयाँ शिक्षा ऐनको मांग सहित विगत २० दिन देखि काठमाण्डौंको सडकमा छन् । उनीहरुको मागेको ऐनमा आफुहरु स्थानिय सरकार मातहत नबस्ने पनि एक मांग समावेश हुनुपर्ने भनिरहेको अवस्थामा स्थानिय सरकार प्रमुखहरु शिक्षकहरु विरुद्व एकजुट भएका छन् ।

एसईई सहित विभिन्न तहको नतिजा समयमै ल्याएर भर्ना अभियान चलाउनु पर्ने वेलामा शिक्षकहरु विद्यार्थी र बच्चाहरुको जिवन संग खेलवाड गरिरहेको भन्दै पर्साका सबै स्थानिय तहका प्रमुखहरु एकजुट भएर त्यस विरुद्व अगाडि बढने निधो गरेको बताईन्छ । आफ्ना विभिन्न माग लिएर आन्दोलनरत्त शिक्षकहरु विरुद्ध पर्सा जिल्लाका स्थानीय सरकार प्रमुखहरु एक भएका छन् ।

विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुको सट्टा उनीहरु आन्दोलन गरेर विद्यार्थीहरुको जीवन संग खेलवाड गरिरहेको भन्दै पर्साका १४ वटै पालिका प्रमुख एक भएर अगाडि बढ्ने भएका छन् । वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन हुनुपर्नेमा शिक्षक आन्दोलनका कारण अभियान प्रभावित भएको छ । स्थानीय तहहरूले सोमबारदेखि वैशाख १५ गतेसम्म जिल्लाभर विद्यार्थी भर्ना अभियान संचालन गर्ने सहमति गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा भएको पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान चलाउन आ–आफ्ना पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

वीरगञ्जका मेयर सिंहले संविधानले आधारभूत र माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी संचालन गराउन सबै पालिका प्रमुख एक भएको बताए । उनले जस्तोसुकै आपतविपत र संकटको अवस्थामा समेत विद्यार्थीको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरी कार्यान्वयन हुँदै आएको बताए ।

बैठकमा जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख हरि राउतले ६० प्रतिशत भन्दा बढी शिक्षक अहिले पनि घरमै रहेकाले उनीहरू आफैं जिम्मेवार भएर विद्यालय संचालन गर्नुपर्ने बताए । बैठकमा सहभागी पर्सागढी नगर प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठनपाठनबाट बन्चित भएको हेरेर बस्न उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठनपाठन सुरु गराउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले शिक्षकको आन्दोलनका कारण विद्यार्थी पठनपाठनबाट बन्चित भए पनि अपजस आफूहरूलाई नै आउने भएकाले अहिले नै सचेत भएर विद्यालय संचालन गर्ने उपाय खोज्न आवश्यक रहेको बताए । बैठकमा पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योतीदेवी चौरसियालगायत सहभागी थिए ।

एक पालिका प्रमुखका अनुसार काठमाण्डौंमा राजनीति गर्ने अधिकांश हेडमास्टर, त्यसका आसेपासे र पावरमा नियुक्त भएका शिक्षक शिक्षिकाहरु निर्देशनको पालना गर्न बाध्यात्मक रुपमा आन्दोलनका लागि काठमाण्डौं गएका छन् ।