एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ४ : 
धनुषाको लालगढमा सातवटै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीबारदेखि सुरु भएको छ। मधेस प्रदेशसभा सचिवालयको आयोजनामा सुरु भएको सम्मेलनमा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका विषयमा छलफल भइरहेको छ। तीन दिनसम्म चल्ने यस सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने उद्देश्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।



कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मधेस प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले देशमा पुनरुत्थानवादी शक्तिहरू सक्रिय हुन थालेको भन्दै सबैलाई सचेत रहनुपर्नेमा जोड दिए। उनले संविधान एक गतिशील दस्तावेज भएकोले समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे।



त्यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता आएपछि विकासका अवसरहरू बढेको बताए। तर, संघीयतालाई समाप्त पार्ने तत्वहरू सक्रिय रहेको उल्लेख गर्दै त्यसविरुद्ध सचेत रहनुपर्ने आवश्यकता औंल्याए।



सम्मेलनमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित कोशी प्रदेशकी सृजना दनुवार, मधेस प्रदेशकी बबिता कुमारी ईश्वर, बागमती प्रदेशकी अप्सरा चापागाईं, गण्डकी प्रदेशकी विना कुमारी थापा, लुम्बिनी प्रदेशकी मेनुका खाँड केसी, कर्णाली प्रदेशकी यशोदा न्यौपाने र सुदूरपश्चिम प्रदेशकी कोइलीदेवी चौधरी सहभागी छन्। त्यस्तै, सम्मेलनमा वरिष्ठ संविधानविद् काशीराज दाहाललगायत विज्ञहरूको पनि उपस्थिति रहेको छ।