एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ :
विश्वकै सबैभन्दा लामो धार्मिक पद यात्रा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरु जनकपुरधाम फर्किएका छन् । लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमामा सहभागीहरू बिहिबार जनकपुरधाम फर्किएका हुन् ।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट निस्किएको मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केको छ ।

बिसौलमा विश्राम गरेको परिक्रमाका सहभागी श्रद्धालुहरू कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुगेका हुन् । जनकपुरधाम आएपछि परिक्रमाका सहभागी श्रद्धालुहरूले शुक्रबार अन्तगृह परिक्रमा गर्नेछन् । अन्तगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ ।

मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ । अन्तगृह परिक्रमा गरेपछि त्यसको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।