एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २८ :
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश कार्यसमितिका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित सपथ ग्रहण तथा होली मिलन समारोहमा नवनिर्वाचित अध्यक्ष अशोककुमार यादवले सपथ लिएका हुन्। उनलाई पार्टीका केन्द्रीय सचिव डा. वीरेन्द्रप्रसाद महतोले सपथ ग्रहण गराएका थिए। सो अवसरमा ३३ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरूले पनि सपथ लिए। जसपाले अन्य पदाधिकारीहरू पछि चयन गरिने जनाएको छ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै जसपाका केन्द्रीय अध्यक्ष अशोक राईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर प्रतिस्पर्धा गर्न सुझाव दिए। अध्यक्ष राईले लोकतन्त्रमा सबैलाई विरोध गर्ने अधिकार रहेको उल्लेख गर्दै पूर्वराजालाई सडक आन्दोलनको सट्टा चुनाव लडेर सत्तामा आउन आग्रह गरे। उनले भने, “लोकतन्त्रमा विरोध गर्ने अधिकार छ, तर राजतन्त्रमा विरोध गर्दा कारबाही हुन्थ्यो।
लोकतन्त्र वैज्ञानिक शासन प्रणाली भएकाले विरोध प्रदर्शनबाट विचलित हुनुपर्दैन। “उनले संघीयता जनअपेक्षाअनुसार पूर्ण रूपमा कार्यान्वयन नभए पनि यसलाई जोगाउनु आवश्यक रहेको बताए। साथै, राजतन्त्र पुनःस्थापनाको प्रयासलाई संघीयता विरोधी सोचको रूपमा चित्रित गरे।
कार्यक्रममा जसपाका सहअध्यक्ष रेणु यादव, केन्द्रीय सचिव डा. वीरेन्द्रप्रसाद महतो सहित नेताहरू राजकिशोर यादव, भाग्यनारायण यादव, रविन्द्र ठाकुर, दिनेश यादव, शम्भुप्रसाद यादव, नन्दकिशोर यादवलगायतको उपस्थिति रहेको थियो।
गत फागुन ९ गते जनकपुरधाममा सम्पन्न कार्यकर्ता भेलामा अशोककुमार यादव निर्विरोध रूपमा मधेश प्रदेश कार्यसमिति अध्यक्ष चयन भएका थिए।


