एसपी रिपोर्टर
महोत्तरी ,फागुन २० : मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू सोमबार महोत्तरी गाउँपालिकाको मडई पुगेका छन्। जलेश्वरमा पाँचौँ दिनको विश्रामपछि डोलासहितका यात्रीहरू मिथिलाविहारी श्रीराम र सीताजीका प्रतिमा लिएर मडई आइपुगेका हुन्।
यात्रीहरूको महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डे र स्थानीयवासीले स्वागत गरेका थिए। महोत्तरीमा परिक्रमा यात्राको छैटौँ दिनको विश्रामस्थल मडई हो। यात्रुहरूको आगमनसँगै स्थानीय वातावरण उत्सवमय बनेको छ।परिक्रमा यात्रामा महोत्तरी जिल्लाको २५ किलोमिटर दूरीमध्ये ९ किलोमिटर पूरा भइसकेको छ। अब यात्रुहरू ध्रुवकुण्ड र कञ्चनवन हुँदै महोत्तरीको यात्रा पूरा गर्नेछन्।फागुन औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको १५ दिने डोलायात्रा धनुषा, महोत्तरी र भारतको मधुवनीसम्म पुग्छ। १३३ किलोमिटरको परिक्रमा गर्ने यो यात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ।


