एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० :
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट गरे।
तर, उनले महत्वपूर्ण एजेन्डाका आधारमा कार्यगत एकता गर्न सकिने बताए। “तत्काल पार्टी एकीकरण सम्भव छैन। तर, इस्युका आधारमा कार्यगत एकता गर्न सकिन्छ। जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ। यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,” खनालले भने।
उनले नेपालले पारित गरेको चुच्चे नक्साको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा सबै दलबीच कार्यगत एकता हुनुपर्ने धारणा राखे। “चुच्चे नक्सा नेपालले बनायो। त्यसको कार्यान्वयन गर्न हामी सबैले आवाज उठाउनुपर्छ। यस्तो विषयमा किन सबै दल एक भएर उभिन सकिरहेका छैनन्?” उनले प्रश्न गरे।
खनालले वर्तमान सरकारलाई संकटको भारी बोकेर हिँडिरहेको आरोप लगाए। “दुई तिहाइको सरकार भए पनि यो सरकार विभिन्न संकटका पोका बोकेर हिँडिरहेको छ। तीमध्ये हालै जारी गरिएको अध्यादेश पनि एक हो,” उनले टिप्पणी गरे।
उनले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको दाबी गरे। “संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन। यस्तो अवस्थामा अध्यादेश ल्याउनु नै गलत हो,” खनालले जोड दिए।


