एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ :
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखराको अगुवाइमा दुई दशकदेखि सञ्चालन हुँदै आएको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। सोमबार जनकपुरधाममा आयोजित एक विशेष कार्यक्रममार्फत अभियानको सुरुवात गरिएको हो। गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा फागुन १८ देखि २२ गतेसम्म पूर्वी नेपालका विभिन्न सहरहरू—जनकपुरधाम, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडामा अभियान सञ्चालन भइरहेको संघले जनाएको छ।
अभियानको मुख्य उद्देश्य पोखरामा पूर्वी नेपालका पर्यटकलाई आकर्षित गर्नुका साथै पोखराबाट ती सहरहरूमा समेत पर्यटक पठाउने रहेको छ। होटल संघ पोखराले पर्यटन क्षेत्रको समृद्धिका लागि पूर्व–पश्चिम क्षेत्रीय सम्बन्ध मजबुत बनाउन सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालन गर्न सम्बन्धित पक्षलाई अपिल समेत गरेको छ।
नेपाल सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिसकेको छ भने गत चैत ४ गते पोखरा औपचारिक रूपमा ‘पर्यटन राजधानी’ घोषित भइसकेको छ। यस सन्दर्भमा, पर्यटन प्रवर्द्धनका यस्ता अभियानहरूले अझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि, मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाले मधेस प्रदेशसभाबाट पर्यटन सम्बन्धी विधेयक पारित भइसकेको उल्लेख गर्दै अब मधेसमा समेत पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गरे। उनले पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।



