एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ :
मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’लाई समर्थन गर्दै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधामको जनकचोकमा विरोध सभा आयोजना गरेको छ।
वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाए। नेता राजीव झाले मुकुम्लुङवासीको विरोधका बाबजुद सरकार जबरजस्ती केवलकार परियोजना अघि बढाउन खोजेको आरोप लगाए। उनले परामर्शबिना थोपारिएको योजनाले जनताको अधिकार हनन हुने चेतावनी दिए।
विरोध सभामा पार्टीका नेता संजय चौधरी, दीपक झा, विद्यार्थी नेता तनबिर रेजालगायतले स्थानीय मागको बेवास्ता गरिएको भन्दै सरकारको विरोध गरे। वक्ताहरूले सरकारले माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने चेतावनी दिए।


