एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ :
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक कुमार राईले मुलुकमा बहुमत सरकार निर्माणका लागि वैकल्पिक शक्तिको रूपमा जसपा पुनर्गठन गरिएको बताएका छन् ।
शुक्रवार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष राईले भन्नुभयो, “हामी २–४ जना सांसद वा मन्त्री पाउनका लागि होइन, सिंगो नेपाललाई नेतृत्व गर्न सक्ने बहुमतिय सरकार निर्माण गर्न पार्टी पुनर्गठन गरेका हौं। यसले भ्रष्टाचार, अन्याय र शोषणविरुद्ध निरन्तर लड्नेछ।”
उहाँले हिमाल, पहाड, तराई, मेचीदेखि महाकालीसम्म सातै प्रदेश, जिल्ला तथा स्थानीय तहमा जसपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। साथै, आदिवासी, जनजाति, मुसलमान, दलित, महिला, गरीब तथा विपन्न समुदायमाथि भइरहेको अन्यायको अन्त्य गर्दै न्याय दिलाउन पार्टी कटिबद्ध रहेको स्पष्ट गर्नुभयो।
पार्टीकी सह–अध्यक्ष रेणु यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै पार्टीभित्र एकलौटी निर्णय लाद्ने प्रवृत्तिका कारण पार्टी पुनर्गठन गर्नु परेको बताउनुभयो। उहाँले उपेन्द्र यादवलाई “ज्ञान भए पनि व्यवस्थापन गर्न नसक्ने” भन्दै, पार्टी सञ्चालनमा गम्भीर गल्ती गरेकाले भविष्यमा जनतासँग माफी माग्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गर्नुभयो।
उहाँले पार्टीभित्रको एकलौटी शासन र प्रदेशमा भइरहेको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूलाई दबाउने प्रयास गरिएको गुनासो राख्दै, लामो अन्तरसंघर्षपछि जसपा पुनर्गठन गर्नुपर्ने अवस्था आएको बताउनुभयो।
पार्टी महासचिव इस्तियाक राईनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पदलोलुपताको आरोप लगाउँदै भन्नुभयो, “उपेन्द्र यादव मन्त्री बन्ने अवसर खोजिरहेका छन्। त्यसैले उनले भूमि अध्यादेशको विरोध गरेका हुन्। मन्त्री पद मिल्नासाथ उनले भूमि अध्यादेशमा सहमति जनाउने छन्।”
भेला आयोजक समितिका संयोजक डा. विरेन्द्र महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवसहित दर्जनौं केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। भेलाले अशोक यादवको अध्यक्षतामा प्रदेश समिति चयन गरेको छ।


