एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ :

मधेस प्रदेशमा मानव अधिकार उल्लंघनका घटनामा अपेक्षाकृत सुधार नआएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ ले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२४ मा राज्य पक्षबाट ५० जना (११ महिला, ३९ पुरुष) र अन्य पक्षबाट २,३४९ जना (२,२२५ महिला, १२४ पुरुष) पीडित भएका छन्।

बाल अधिकार उल्लंघन अन्तर्गत १३० भन्दा बढी बालिका बलात्कार, २२ बालिका तथा १ बालक यौन दुर्व्यवहार, १६ जना बालबालिका बेचबिखन तथा ४ जना बालविवाहका सिकार भएका छन्। गत वर्षको तुलनामा बाल अधिकार उल्लंघनका घटना बढेका छन्।

महिला अधिकार उल्लंघन मा २,०२२ जना महिला पीडित, जसमा बलात्कार (९८), बलात्कार प्रयास (६५), दाइजो (१९१), घरेलु हिंसा (१,५४७), बहुविवाह (६०) र साइबर अपराध (६) घटनाहरू प्रमुख रहेका छन्। साथै, १८ जना महिलाको हत्या परिवारकै सदस्यबाट भएको प्रतिवेदनमा उल्लेख छ।

मानव अधिकार उल्लंघनको सूचकांक अनुसार वागमती प्रदेश पहिलो (६६.१८), लुम्बिनी दोस्रो (४१.८६) र मधेस तेस्रो (३७.१७) स्थानमा रहेको छ। तथापि, अपहरण, हत्या र धम्की सम्बन्धी घटनामा मधेस प्रदेश पहिलो स्थानमा रहेको छ।

प्रतिवेदन अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा केही सुधार भए पनि मानव अधिकार उल्लंघनका घटनामा कमी आउन सकेको छैन।