एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ :
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस उल्लासपूर्वक मनाइएको छ।
छिन्नमस्ता गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गृह मन्त्री सार्वजनीक नाम ले राजनीतिक दलहरू संघीयता र संविधानलाई संस्थागत गर्न इमानदार हुनुपर्ने बताएका छन्। उनले संविधानमै स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र, र स्वायत्त इलाकाको अवधारणा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले भ्रष्टाचार, सुशासन र स्वायत्तताको विषयमा बेमौसमी खेती गरेको आरोप लगाए। साथै, सत्ता सञ्चालनका बेला कानुनी संरचना नबनाउने तर बाहिरिएपछि ती मुद्दा उठाउने प्रवृत्तिप्रति प्रश्न उठाए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया, नीति आयोग सदस्य डा. शिला मिश्र, सप्तरी र धनुषाका जिल्ला समन्वय समिति सदस्यहरू, विभिन्न नगरपालिकाका प्रमुखहरू, गृह सचिव उद्दब प्रसाद रिजाल, सुरक्षा निकायका प्रमुखहरू तथा समाजसेवीहरूको उपस्थिति थियो। कार्यक्रमको समापन छिन्नमस्ता मन्दिरमा १६ हजार दीप प्रज्वलन गरी गरिएको थियो।


