एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० : विदेह नगरपालिकाका मेयर र उनका परिवारजन पटक पटक विवादमा फँस्ने गरेका छन् । उनीहरु माथी हरेक पटक एउटै आरोप हुन्छ, कुटपिट र धाकधम्कीकै । अहिले पुनः नगरपालिकाकाकै प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहमाथि नगरप्रमुख बेचन दासका छोरा राम भजन दासले कुटपिट गरेको तथा स्वयं मेयर दासले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।
जानकारी अनुसार शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी नि.मा.वि. सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा राम भजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली गलौज गर्दै कुटपिट गरेका हुन् ।
घटना पछि हाकिम साहले प्रहरी प्रशासन गुहारेका छन् । दोषिलाई कारवाही र सुरक्षाको मांग गर्दै उनले धनुषाका सिडिओलाई पत्राचार समेत गरेको देखिन्छ । घटना पछि प्रमुख प्रशासकीय अधिकृतले धनुषाका प्रहरी प्रमुखलाई विस्तृत जानकारी गराएका थिए । घटनापछि प्रहरी जवान विकास बस्नेत र विकास कुमार राय तथा वडा नं. ७ का अध्यक्ष राज किशोर सिंह घटनास्थलमा पुगेका थिए । तर प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमै मेयर दासले साहलाई गोली हान्ने थप धम्की दिएको
बताइएको छ ।
हाकिम साहले सिडिओलाई बुझाएको पत्र

उनले आफूलाई कुनै कानुनले रोक्न नसक्ने दाबी गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । साहले उक्त घटनापछि राम भजन दासलाई कुटपिटको आरोपमा र मेयर बेचन दासलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । साथै, उनले आफ्नो सुरक्षाको व्यवस्था मिलाउन र नयाँ कार्यस्थलको व्यवस्था नभएसम्म पूर्ण सुरक्षा प्रदान गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् ।


