एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ :
जनकपुरधामको प्रसिद्व राम मन्दिरको दक्षिण तर्फ आकर्षक प्रवेशद्वारा बन्ने भएको छ भन्ने राम मन्दिर अगाडिको पार्कको सौन्दर्यकरण योजनाको शिलान्यास भएको छ । मन्दिरको दक्षिणी गेटका लागि प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले ५० लाख र राम मन्दिर पार्क सौन्दर्यकरणका लागि प्रतिनीधिसभा सदस्य मनिष झाको पहलमा शहरी विकास मन्त्रालयबाट ५० लाख रुपैयाको योजना प्राप्त भएको श्री महाविर युवा कमिटिका अध्यक्ष अजय गुप्ताले बताए ।

शिलान्यास कार्यक्रममा ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा प्रवेशद्वार निर्माणको थालनी गरेका छन् । प्रवेशद्वार निर्माणका लागि संसदीय कोष, उपमहानगरपालिका र शहरी विकास मन्त्रालय कोषको संयोजन गरिएको छ । ५० लाख रुपैयाँ ठाकुरको संसदीय कोषबाट, ५० लाख जनकपुरधाम उपमहानगरपालिकाबाट र बाँकी ५० लाख प्रतिनिधि सभा सदस्य मनीष झाको समन्वयमा शहरी विकास मन्त्रालयबाट जुटाइएको छ ।

उक्त प्रवेशद्वारसँगै राम मन्दिरको पूर्वतर्फ रहेको पार्कको विकासका लागि पनि जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख रुपैयाँको बजेट छुट्याएको छ । महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले यो विकासका लागि डीपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) तयार भइसकेको जानकारी दिए ।

शिलान्यास समारोहमा राम मन्दिरका महन्थ राम गिरी, वडा नम्बर–४ का कार्यबाहक अध्यक्ष महेश कुमार साह, महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ता, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, माँ जानकी यातायात प्रा.लि.का अध्यक्ष मनोज कुमार चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य राकेश बिक्रम साह, जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीतेन्द्र महासेठ, पूर्वबरिष्ठ उपाध्यक्ष मनिष रमण साहलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिती रहेको थियो ।