एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ।

उहाँले भारतीय महावाणिज्य दूतावास वीरगञ्ज तथा जनकपुरधाम उद्योग वाणिज्य संघको संयुक्त आयोजना र नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्को समन्वयमा जनकपुरधाममा आयोजित पर्यटन सम्मेलनमा बोल्दै रामायण सर्किटसँगै काठमाडौँ, लुम्बिनी र पोखरालाई जोड्न सके दुवै देशको पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो। प्रदेश सरकारले रामायण सर्किटलाई उजागर गर्न दुग्धमति नदीको संरक्षण लगायतका योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो।

मुख्यमन्त्री सिंहले जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई नेपालको अन्य धार्मिक स्थलहरूसँग जोड्न सके समग्र पर्यटन क्षेत्र लाभान्वित हुने बताउनुभयो। साथै, यस्ता कार्यक्रमका लागि थप लगानी र प्रचार-प्रसार आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालका धार्मिक पर्यटकहरू प्रयागराज, अयोध्या, बाबाधाम तथा बनारस जाने गरेकाले नेपालबाट भारतको पर्यटन क्षेत्रमा ठूलो आर्थिक प्रवाह भइरहेको तथ्य उजागर गर्नुभयो।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै पर्यटकहरूको सहजीकरणका लागि दुवै देश गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले भारतीय पर्यटकहरूले जनकपुरधाम, पशुपति, लुम्बिनी, पोखरा भ्रमण गर्न चाहने र नेपाली पर्यटकहरूले भारतका धार्मिक स्थलहरूमा रुचि राख्ने भएकाले सहकार्य आवश्यक रहेको बताउनुभयो।

पर्यटन प्रवर्द्धनका लागि रामायण सर्किटको विकासमा दुवै देशका सरकारले साझा रणनीति आवश्यक रहेकोमा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष द्वय डा. हरिबंश झा, डा. भोगेन्द्र झा, तथा वर्तमान उपाध्यक्ष डा. सोहन कुमार साहले जोड दिनुभयो। उहाँहरूले मधेश प्रदेशलाई भारतको बिहार तथा उत्तर प्रदेशका पर्यटकसँग जोड्न सके यस क्षेत्रको आर्थिक तथा भौतिक विकासमा ठुलो योगदान पुग्ने धारणा राख्नुभयो।

नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्का सचिव अतुल कुमार ठाकुरले दुवै देशका पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिएको बताउनुभयो। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले रामायण सर्किटको विकासका लागि थप पूर्वाधार निर्माण गर्न दुवै देशका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्मल चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरंग प्रसाद साह, चेम्बर अफ कमर्स मधेश प्रदेशका अध्यक्ष अभिषेक चौधरी, संस्कृति विद् रमेश रञ्जन झा, सुनिल मल्लिक तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले रामायण सर्किट विकाससम्बन्धी धारणा राख्नुभएको थियो।