एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ :
धनुषा जिल्लाको एक मात्र धनुषाधाम नगरपालिकाको वडा नं. १ गोविन्दपुरमा वडा अध्यक्षका लागि भइरहेको मतदान जारी छ । वेलुकी ३ बजे सम्म ७० प्रतिशत भन्दा बढि मत खसिसकेको बताइएको छ । बेलुकी पाँच बजे सम्म हुने मतदानमा ८० प्रतिशत भन्दा बढि मत खस्ने अनुमान छ ।

राष्ट्रियसभा सदस्य कांग्रेसका प्रभावशाली नेता आनन्द प्रसाद ढुङ्गाना र मेयर बालेश्वर मण्डलको गृह वडामा भइरहेको मतदान कांग्रेसको लागि प्रतिष्ठाको विषय हो । यस अगाडि झिनो मतले पराजित एमाले आफनो जित दर्ता गर्न कुनै कसरी वाँकी राखेको छैन भने माओवादी र जसपा नेपालले पनि कडा मेहनत गरेको सो वडाको मत परिणाम आजै राती सम्म आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान स्थलमा भेटेका राष्ट्रियसभा सदस्य तथा कांग्रेस ढुङ्गानाले सत्ता सहकार्य र मतदान बेग्लै विषय भएकाले लोकतन्त्रका लागि आवश्यक दल र दलका लागि आवश्यक निर्वाचन र त्यसको परिणामलाई आफुहरु जहिले पनि सम्मान गर्ने बताए । वडामा कांग्रेस एकदमै बलियो रहेको र दुईपटक देखि लगातार जित्दै आएकाले आफुहरु जित्ने पुर्ण आशावादी रहेको उनको तर्क थियो ।

२०७९ वैशाखमा भएको स्थानीय तहको नर्वाचनबाट वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका विश्वनाथ यादवको २०८१ जेठ ३१ मा निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् । वडामा तीन हजार २२६ मतदाता छन् । मतदानका लागि आधारभूत विद्यालय मगराहा, तत्कालीन गाविस भवन गोविन्दपुर र ठाकुर स्मृति प्रतिष्ठान सामुदायिक भवन गरी चार वटा मतदान केन्द्र मतदान भइरहेको छ । सबै मतदान केन्द्र पाँच–पाँच जना कर्मचारी खटाइएको छ ।

मतदान सम्पन्न भएसँगै मतगणना स्थलमा सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गरिने निर्वाचन अधिकृत खडकाले बताउनुभयो । निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मतदान केन्द्र भित्र जनपद प्रहरी रहने त्यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेनाले समेत बाहिरी घेराबाट सुरक्षा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।