एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ : एसपी खवरको टिम आइतवार बाढी पहिरोको प्रभाव व्यवस्थापन सन्दर्भमा मधेश सरकारले गरिरहेको कामहरु बारे बुझन मुख्यमन्त्रीको कार्यालयमा पुगेको थियो । त्यहाँ पुग्दा मुख्यमन्त्रीको निजी सचिवालयमा जनकपुरधामको निजी कलेजहरुमा पढने विद्यार्थीहरुले बस्ने सोफा र कुर्सी भरिभराउ थिए ।
पत्रकार आउनुभयो खवर हुनासाथ एकजना विद्यार्थी आफनो कुर्सी छोडेर बस्न आग्रह गरे । मन्त्री परिषद बैठकका कारण मुख्यमन्त्री व्यस्त भएकाले उनीहरु करिव तिन घण्टा देखि त्यहाँँ प्रतिक्षारत रहेछन् । उनीहरुप्रति निजी सचिवालयका सदस्य रञ्जित साहले पनि धेरै राम्रो सदभाव व्यक्त गर्दै उनीहरुको मांग र मुद्दाको प्रशंसा गरिरहेका थिए । बिहानै देखि भोकै रहेका तिन छात्रा सहितका करिव डेढ दर्जन किशोर किशोरीहरु एक प्याकेट बिस्कुट किनेर ल्याएर खाएर तत्काल भोक मेटाउदै आफना पिडा पोख्न थाले ।
उनीहरु मध्ये अधिकांश जनकपुरधाम उपमहानगरपालिकाको छात्रवृती परिक्षामा उर्तिण गरि छात्रवृती पाएका विद्यार्थी रहेपनि अध्यन्नरत मिट, मोडेल सहितका निजी कलेजहरुले अनावश्यक पैसा असुल्न थालेपछि मुख्यमन्त्री गुर्हान पुगेका रहेछन् । म संगै स्कुल पढेका साथीहरु काठमाण्डौंमा बालेनको छात्रवृतीमा पुर्ण रुपमा निशुल्क पढिरहेका छन हामि जनकपुरधामको परिक्षामा नाम निकालेपनि पैसा तिर्न परिरहेको छ छात्रा पुजा यादवले भनिन् ।

१२ कक्षामा पुगेका छात्र राहुल कुमार साह आफुले फुल स्कलरशिपमा नाम निकालेर भर्ना भएपनि भर्ना, पुजापाठ, अतिथि सत्कार सहितका विभिन्न शिर्षकमा गरि ४५ हजार भन्दा बढि पैसा अहिले सम्म तिर्न लगाएको र थप पैसा नदिए परिक्षाबाट बञ्चित गरिदिने धम्की दिइरहेको आरोल लगाए । मन्त्री परिषदको बैठक पछि मुख्यमन्त्रीले उनीहरुलाई बोलाए र उनीहरुको मांग र मुद्दा जायज रहेको भन्दै आफु एक्शन लिइसकेको बताए ।
मुख्यमन्त्रीले भने, ‘मन्त्री परिषदमा शिक्षा मन्त्री पनि आउनुभएको थियो, मैले तपाईहरुको मांग पत्रमा तोक लगाएर उहाँलाई दिसके र पालिकाका कर्मचारीलाई बोलाएको छु, चिन्ता नगर्नोस छात्रवृती कार्यान्वयन नगर्ने जो कोहिलाई कारवाहि सम्म हुन्छ ।’ एसपी खवरसंगको कुराकानीमा पनि मुख्यमन्त्री सतिश कुमार सिंहले छात्रवृती लागु नगरेको पाइएमा पालिका, कलेज जो कोहिलाई पनि कुनै पनि कारवाही गरिने चेतावनी दिएका छन् ।
विद्यार्थीहरुका अनुसार यस कुरामा कलेजको पनि दोष छैन किनकी जनकपुरधाम उपमहानगरले छात्रवृती कार्यान्वयनका लागि कुनै ठोस पहल र निर्णयनै गरेको देखिदैन । उनीहरुले शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे कलेजहरु संग मिलेर छात्रवृती कार्यान्वयनमा ढिलाई गरिरहेको र भ्रष्टाचार गरिरहेको आरोप पनि लगाए । आफुहरु पालिकामा पटक पटक पुगेर मेयर र शाखा प्रमुखलाई भेटदा अञ्जु म्यामले भन्नुहुन्छ, ‘तत्काल पढदै गर न, हामि कुरा गरेर पैसा फिर्ता गर्न लगाउँछौं’ विद्यार्थीहरुले सुनाए ।





